७ पुस २०८२, सोमबार

माटो जोगाउन सुरु गरिएको देशव्यापी दौडमा अभियान्ताले पूरा गरे १५ सय किलोमिटरको दुरी

प्रकाशित मिति :  20 July, 2022 1:44 pm


काठमाडौं । विश्वव्यापी माटो जोगाऔँ अभियान अन्तरगत नेपालमा सुरु गरिएको देशव्यापी दौडले आज ३६ औं दिनमा १५ सय किलोमिटर पूरा गरेको छ ।

उक्त अवसरमा काठमाडौंको अनामनगर स्थित युनियन हाउसमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । माटो जोगाऔँ अभियानका स्व्यंसेवक यम बहादुर चोचाङ्गी (नबिन पुन मगर) ले जेष्ठ ३० गतेदेखि काठमाडौंबाट देशव्यापी दौड सुरु गरेका थिए ।

माटो विनाश बारे जानकारी फैल्याउने र माटो जोगाउन सबै नेपालीमा सन्देश पुर्‍याउने उदेश्यले पुनले सातवटै प्रदेश पुग्ने गरि ३५०० कि.मी. दुरीको लक्ष्य लिएका छन् । बाग्मती प्रदेशबाट सुरु भएको दौड मधेश प्रदेश हुँदै प्रदेश १ पुगेर पुन बागमति प्रदेश प्रवेश गरी नुवाकोट हँदै गण्डकी प्रदेश लागेको छ । लगभग ७५ दिनको दौड तराई हुँदै पुर्वी सिमा पुगी अब गण्डकी प्रदेश हुँदै पश्चिम तिर जादाँ बाँकी २ हजार किलोमिटर पूरा हुनेछ ।

दौडका क्रममा धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, धनुषा, सिराहा, सप्तरी, सर्लाही, रौतहट, उदयपुर, सुनसरी, मोरङ्, झापा, ईलाम, पाँथर, तेह्रथुम, धनकुटा, स‌खुवासभा, भोजपुर, खोटाङ्, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर लगायतका जिल्लाका विभिन्न स्थानमा २५ वटा भन्दा धेरै कार्यक्रम गरी प्रत्यक्षरुपमा झण्डै ६ हजार मानिसहरुसँग अन्तरक्रिया गरी माटो विनाशबारे जनचेतना फैल्याउने र आम मानिसलाई माटो जोगाउन जागरुक हुन प्रेरित गरिएको छ ।

अभियानका क्रममा सम्पूर्ण नेपालीबाट अपार साथ र माया पाएको र यसले उर्जा प्रदान गरेको स्वमसेवक मगरले बताए । दौडको एक महिना पुरा भइसक्दा पुन भन्छन्, “सुरुवाती दिनमा तराईको गर्मीले धेरै चुनौती दियो । धेरै रिस्क लिइएछ क्या हो जस्तो लाग्यो तर अहिले दौडीन सामान्यप्राय भइसक्यो” ।

स्थानिय स्तरमा माटोबारे धेरै चासो र चिन्ता रहेको बताउँदै मगरले राजनिति, धर्म, जात, भूगोल आदीलाई भूलेर माटो जोगाउन सबै लाग्नु पर्ने र माटो सबैको साझा सवाल हुनुपर्नेमा जोड दिए ।

यात्राका क्रममा मगरलाई माटो जोगाऔँ अभियानका स्व्यंसेवक भुमित्रहरु, प्रहरी प्रशासन, उद्ध्योग वाणिज्य संघ, स्थानिय सरकार, प्रदेश सरकार, स्थानिय संघ संस्था, लायन्स क्लब, कृषि ज्ञान केन्द्र, विद्यालय, कलेज, स्थानिय जनता लगायतले पुर्ण साथ र हौसला प्रदान गरिरहेका छन् ।

“माटो जोगाऔँ” सदगुरुद्वारा सुरु गरिएको विश्वव्यापी अभियान हो । यसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ । विश्वस्तरमै माटोलाई विनाश हुनबाट जोगाउनको लागि माटो जोगाऔँ अभियानअन्तर्गत सद्‌गुरुद्वारा थालनी गरिएको यात्रा २१ मार्च, २०२२ मा लण्डनमा शुरु भई यूरोप, मध्य(एशिया र मध्य)पूर्व गरी २७ राष्ट्रहरूमा पुगेको थियो ।

ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरुको १०० दिने एकल मोटरसाइकल यात्रा २७ राष्ट्रहरू र भारतका ९ राज्यहरू हुँदै ३० हजार किलोमिटर पूरा गरी तमिलनाडुस्थित ईशा योग केन्द्रमा रहेको भव्य आदियोगीको प्राङ्गणमा २१ जुनको रातमा समापन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !