१३ बैशाख २०८१, बिहिबार

श्रीलङ्कामा सरकार विरोधी प्रदर्शनकारीहरूको शिविरमा सेनाको छापा

प्रकाशित मिति :  22 July, 2022 9:49 am


काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्दै ती शिविरका पाल निकाल्न थालेको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए।

रनिल विक्रमसिङ्घले राष्ट्रपति पदको शपथ लिएपछि यस्तो घटना भएको हो। श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबय राजपक्षले गत साता देश छोडेर भागेका थिए।

पूर्व प्रधानमन्त्री समेत रहेका विक्रमसिङ्घ जनतासामु अलोकप्रिय नेता हुन्। उनले प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन्।

केही प्रदर्शनकारीहरूले भने उनलाई मौका दिने बताएका छन्। चरम आर्थिक सङ्कटमा परे पछि श्रीलङ्कामा महिनौँदेखि व्यापक अशान्ति छाएको छ। धेरैले राजपक्ष प्रशासनले देशको वित्तीय व्यवस्थापन सही ढङ्गमा नगरेको दोष लगाएका छन् र विक्रमसिङ्घलाई पनि समस्याको एक कारकको रूपमा हेर्छन्।

शपथ लिए लगत्तै विक्रमसिङ्घले सरकार ढाल्ने वा सरकारी भवनहरू कब्जा गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक गतिविधि नभएको स्पष्ट पारे र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन्।



प्रतिक्रिया दिनुहोस !