पाल्पा खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष र कार्यालय प्रमुखसहित ४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । पाल्पा खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष करुणा काफ्ले र कार्यालय प्रमुख ताराबहादुर थापासहित ४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अध्यक्ष काफ्लेसहितले आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा फर्जी कागजात तयार गरेर रकम भुक्तानी गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
रामपुर बहुउद्देश्यीय कभर्ड हलको निर्माणका क्रममा सार्वजनिक खरिद ऐन,२०६३ र सार्वजनिक खरिद निममावली,२०६४ मा उल्लेख भएको प्रावधान विपरीत विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) नगरेर फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लिसँग अति संक्षिप्त रुपको परामर्श सेवा खरिद सम्झौता गरेको , डिपीआर पेश नगरेरै रु.९ लाख ९० हजार पहिले नै भुक्तानी दिएको अख्तियारको ठहर छ ।
डीपीआर नै पेश नगरेर इन्सेप्सन रिपोर्टलाई नै डीपीआर भनेर फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लिका प्रोप्राइटरले पेश गरेको झुठा बिल पेश गरेको भन्दै सञ्चालक सन्देश पाण्डे र झपेन पाण्डे विरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले भनेको छ,“तत्कालीन पाल्पा जिल्ला, खेलकुद विकास समितिका अध्यक्ष करूणा काफ्ले र तत्कालीन पाल्पा जिल्ला, खेलकुद विकास समितिका कार्यालय प्रमुख तारा बहादुर थापालाई विगो रू.९,९०,०००।– (नौ लाख नब्बे हजार रूपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा विगो बमोजिम जरिवाना गरी उक्त विगो असुल उपर हुन मागदावी लिइएको छ ।”
अख्तियारले सन्देश पाण्डे र झपेन पाण्डेलाई बमोजिम विगो रू.९ लाख ९० हजार रुपैयाँ समेत जफतको माग गरेको छ ।








