स्याङ्जाको आँधीखोला गाउँपालिकाले रोडा, ढुंगा,गिट्टीमा घटीदरमा कर उठायो
काठमाडौं । स्याङ्जाको आँधीखोला गाउँपालिकाले रोडा, ढुंगा,गिट्टी,चिप्स,गेग्रन,चट्टानको संकलनमा घटीदरमा कर उठाएको खुलेको छ ।
महालेखा परीक्षकको कार्यालयकाे प्रतिवेदन-२०७९ मा गाउँपालिकाले घटीदरमा कर उठाएको भन्दै आर्थिक ऐन पालना गर्न भनेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको गण्डकी प्रदेश आर्थिक ऐन,२०७७ को अनुसूची ६ मा रोडा,ढुंगा,गिट्टी,चिप्स,गेग्रन,चट्टानको संकलनको दर प्रति क्यूफिट रु ७ निर्माण गरेको छ ।
गण्डकी प्रदेश सरकारबाट जारी भएको ढुंगा,गिट्टी,बालुवा उत्खनन संकलन क्रसिङ र बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि,२०७५ को दफा ९ मा उक्त सामानको दररेट प्रदेश सरकारले तोके बामोजिम हुने व्यवस्था गरेको छ । तर गाउँपालिकाले आय ठेक्का लगाएको रंगठाटी नाकामाथि गावटे पुलको मुखघाट,बहियाघाट,च्याटेघाट तथा सरादी खोला घाट नाकासम्म घाटमा प्रदेश सरकारले तोकेको प्रति क्यूफिटको दर रु. ७ नराखी न्यूनतम रकम निर्धारण गरि नदीजन्य पदार्थको बिक्रीको लागि उक्त घाटको आय ठेक्का लगाई मु.अ.करसहित रु.९ लाख ९९ हजार ९ सय ९९ आम्दानी गरेको छ ।
उक्त हिसाब अनुसार गाउँपालिकाले प्रदेश सरकारले निर्धारण गरेको प्रति क्यूफिट रु. ७ दर नराखी राजश्व संकलन गर्नुपर्नेमा सो नगरी प्रतिक्यूफिट रु. ७ भन्दा कम दरमा न्यूनतम मुल्याङ्कन गरी आय ठेक्का गरेको महालेखा परिक्षकको प्रतिवेदन २०७९ मा उल्लेख छ । न्यून मुल्याङ्कन गरेर ठेक्कामा लगाउँदा प्रदेश सरकारबाट जारी भएको दरमा आय संकलन नभइ पालिकाले राजश्व गुमाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।








