१३ बैशाख २०८१, बिहिबार

सुनकोशी गाउँपालिको बेरुजू करिब १२ करोड, क्रसर उद्योगलाई फाइदा पुग्नेगरी सम्झौता

प्रकाशित मिति :  27 July, 2022 3:38 pm


सिन्धुली । सिन्धुली सुनकोशी गाउँपालिकाको बेरुजू करिब १२ करोड रुपैँया पुगेको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सनकोशी गाउँपालिको बेरुजु ११ करोड ९७ लाख ८९ हजार रुपैँया पुगेको देखाएको छ ।

आर्थिक वर्ष २०७६ ७७ मा ८ करोड १६ लाख ३८ हजार रुपैँया बेरुजु रहेको ३८ लाख ५५ हजार रुपैँया फछर्यौट गरेको छ । २०७६ ७७ को फछर्यौट गरेपछि ७ करोड ७७ लाख ८३ हजार रुपैँया बाँकी रहेकोमा आर्थिक वर्ष २०७७ ७८ मा थप ४ करोड २० लाख ६ हजार रुपैँया बेरुजु थपिएको महालेखा परिक्षकले जनाएको छ ।

सहकारी गर्नुपर्ने भुक्तानीमा गाउँपालिकाले गर्यो भुक्तानी

महालेखाले चिस्यान केन्द्र निर्माणको गाउँपालिकाले नाफामुलक सहकारीमा अपनत्व गरेर ४३ लाख ७६ हजार रुपैँया भुक्तानी गरेको उल्लेख गरेको छ । गाउँपालिका र मुकुटेश्वरी बहुउदेश्यीय सहकारी बीच २०७६ भदौ ६ गते चिस्यान केन्द्र स्थापनाको लागि २ करोडको सम्झौता भएको थियो ।

सम्झौताको द्विपक्षिय सेवा र सर्तहरुमा पहिलो पक्षले व्यहोर्नुपर्नेमा गाउँपालिकाले व्यहोरेको हो । पहिलो पक्षले व्यहोर्नुपर्ने सेवा र सर्तमा सहकारी संस्था र प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय बाग्मती प्रदेश रहेको छ । गाउँपलिकाले ४३ लाख ७६ हजार रुपैँया सहकारीको तर्फबाट प्रदेश सरकारलाई भुक्तानी गरेको महालेखाले जनाएको छ ।

क्रसर उद्योगलाई फाइदा पुग्नेगरी उत्खनन् सम्झौता

गाउँपालिकाले क्रसर उद्योगलाई फाइदा पुग्नेगरी सम्झौता गरेको महालेखाले जनाएको छ । सुनकोशी नदी क्षेत्रबाट ढुङ्गा, बालुवा उत्खनन् निकासी संकलन गर्ने कार्यको लागि पालिका र निर्माण सेवा प्रा.लि बीच सम्झौता भएको थियो ।

पालिका र कम्पनी बीच २०७७ भदौ १० गते सम्झौता भएको थियो । सम्झौता अनुसार मूल्य अभिवृद्धि कर सहित १ करोड २० लाख ५० हजार ३२० रुपैँया कबोल अ‍ैक सहित २०७८ असार ३१ सम्म अवधि तोकी सम्झौता भएको थियो । आईईई प्रतिवदेनमा प्रत्येक वर्ष २७० दिन प्रति वर्ष (२०७७ असोज १ गतेदेखि जेठ मसान्तसम्म) ६६९८२.५ घनमिटर उत्खनन गर्न पाइन्छ ।

तर गाउँपालिकाले उत्खनन् एवम् संकलन अवधि २०७७ भदौ ११ देखि २०७७ असार ३१ सम्म उत्खनन अवधि तोकेर सम्झौता गरेको छ । गाउँपालिकाले संघ र प्रदेशको कानुन विपतरित घटी दरमा सम्झौता गरेको महालेखाले जनाएको छ । महालेखाले घटीको सम्बन्धमा तिनै तहका सरकार बीच समन्वय गरी टुङ्गो लगाउनुपर्ने अन्यथा असुलउपर गर्न भनेको छ । महालेखाले २४ लाख ६० हजार ६५ रुपैँया असुल उपर गर्न भनेको छ ।

महामारीको बीचमा लघुउद्यम विकास कार्यक्रम

गाउँपालिकाले कोभिड महामारीको बीचमा लघुउद्यम कार्यक्रम अन्र्तगत प्रशिक्षण दिएको महालेखाले उल्लेख गरेको छ । जिल्लाभरी कोभिड संक्रमण फैलिएको अवस्थामा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र, सिन्धुलीको निर्णयलाई अवज्ञा गर्दै कार्यक्रम गरेको भन्ने कुरामा अश्वस्त नभएको महालेखाले जनाएको छ ।

लघुउद्यम विकास कार्यक्रम अनर्तगत २०७८ वैशाख ९ गतेदेखि २०७८ असार १० सम्म ६० दिनको प्रशिक्ष दिएको जनाएको छ । प्रशिक्षणमा प्रशिक्षण भक्ता बापत १ लाख २१ हजार ४४० रुपैँया र खाजा खर्च बापत १ लाख ३८ हजार रुपैँया गाउँपालिकाले खर्च गरेको थियो । गाउँपालिकाले खर्च गरेको २ लाख ५९ हजार ४४० रुपैँयामा आश्वस्त हुन नसकेको भन्दै महालेखाले उक्त कार्यक्रम सञ्चालन सम्बन्धमा थप पुष्टाँई गर्न आग्रह गरेको छ ।

उटै नागरिकता नम्बर भएको लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता

गाउँपालिकाले भत्ता वितरण गर्दा एउटै नागरिकता नम्बर भएको २ जना लाभग्राहीलाई प्रथम किस्तामा २८ जनालाई २ लाख ९१ हजार रुपैँया र दोस्रो र तेस्रो किस्तामा ८२ जनालाई ८ लाख २४ हजार रुपैँया वितरण गरेको महालेखाले जनाएको छ । महालेखाले उक्ता लाभग्राही एकै भए नभएको यकिन गर्न नसकेकोले लाभग्राही एउटै भएको नभएको यकिन गरि ५ लाख २४ हजार रुपैँया असुल हुनुपर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !