४ जेष्ठ २०८१, शुक्रबार

कर्णालीमा बालीको उत्पादन घट्यो

प्रकाशित मिति :  28 July, 2022 8:51 am


जुम्ला । कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८\७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ ।

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८\७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैर स्थलगत रुपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगारीलगायत आर्थिक परिदृश्यको अध्ययन गरेको थियो ।

उक्त अध्ययनले कृषि बालीले ढाकेको क्षेत्रफल ६ दशमलव १९ प्रतिशतले घट्नुका साथै प्रमुख बाली धन, मकै र गहुँले ढाकेको क्षेत्रसमेत घटेको पाइएको छ । धानबाली ११ दशमलव ९० प्रतिशत, मकै ८ दशमलव ६५ र गहुँ ४ दशमलव ९५ प्रतिशतले घटेको छ । प्रतिवेदनले कोदो, फापर, भटमास, दलहन र तेलहनले ढाकेको क्षेत्रफल भने वृद्धि भएको देखाएको छ ।

धानबालीको उत्पादन २१ दशमलव ८९, मकैबाली २ दशमलव १ प्रतिशतले बढेको छ भने कोदो र फापरले ढाकेको क्षेत्रफल वृद्धि भएपनि उत्पादकत्ममा गिरावट आएको छ । कोदो र फापरको उत्पादन क्रमशः ४० दशमलव ९० प्रतिशत र ९ दशमलव ४० प्रतिशतले घटेको छ ।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मल र बीउ नपाउनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणले कृषि बाली क्षेत्र घट्न गई उत्पादनमा कमी आएको हुनसक्ने बताए ।

कर्णाली प्रदेशमा आव २०७८र७९ को पुस मसान्तसम्म दूध उत्पादन ८ दशमलव ४८ प्रतिशतले बढेको छ भने मासु उत्पादन ० दशमलव १२ प्रतिशतले घटेको छ । अण्डा र माछा उत्पादन १२ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो वर्षको सोही अवधिभन्दा २०७९ को पुस मसान्तसम्म कृषि कर्जा प्रवाह ३८ प्रतिशतले बढेर रु चार अर्ब ५४ करोड १४ लाख पुगेको राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कर्णालीमा मझौला तथा ठूला उद्योग स्थापना र औद्योगिक कर्जा प्रवाहको अवस्था न्यून छ । सञ्चालित लघु, घरेलु तथा साना उद्योगको सङ्ख्या २९ हजार दुई सय ४८ पुगेको छ । सबैभन्दा बढी औद्योगिक कर्जा सुर्खेत र कम डोल्पामा प्रवाह भएको छ ।

कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । सुर्खेत, जुम्ला र रारामा पर्यटक लक्षित ठूलो होटल तथा रेष्टुराँ खोल्ने क्रम बढेको देखिएको छ । कोरोना महामारीको प्रभाव कम भएसँगै पर्यटन क्षेत्रले आफ्नो लय समातेको छ । रासस



प्रतिक्रिया दिनुहोस !