किन बढ्दैछन् आत्महत्याका घटना अर्घाखाँचीमा ?
अनिल नेपाली
अर्घाखाँची । अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । पछिल्लो समय ९ देखि ९३ वर्षसम्मका मानिसले आत्महत्या गरेका छन् ।
प्रत्येक वर्ष ४५ जना भन्दा धेरैले आत्महत्या गर्न थालेपछि जिल्लामा यसले जटिल समस्याको रुप लिन थालेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको पछिल्लो तथ्यांक अनुसार गत आ.व.मा मात्रै अर्घाखाँचीमा ५९ जनाले आत्महत्या गरेका छन् । आर्थिक बर्ष २०७८/०७९ मा पुरुष ३८ र महिला २१ गरि अर्घाखाँचीमा ५९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार ५९ जनामध्ये ५५ जनाले झुन्डिएर र ४ जनाले बिष सेवन गरेर ज्यान त्यागेका छन् । यस्तै पछिल्लो तीन वर्षमा अर्घाखाँचीमा १ सय ८७ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जसमा आर्थिक बर्ष ०७६÷७७ मा ४८, आर्थिक बर्ष ०७७÷७८ मा ८० र गत आ.ब. २०७८÷०७९ मा ५९ जनाले आत्महत्या गरेका छन् ।
यसरी आत्महत्याको बाटो रोज्नेमा ९ वर्षदेखी ९३ वर्ष उमेरका समेत रहेका छन् । आत्महत्याका घटना बढ्दै जानुमा अशिक्षा,गरिबी र बेरोजगारी प्रमुख कारण रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । “आत्महत्या न्यूनीकरण गर्न हामीले सचेतना मुलक अभियान चलाइरहेका छौं”,प्रहरी नायब उपरिक्षक थापाले भने , यद्यपि अपेक्षित प्रतिफल आएको छैन, यो गम्भीर समस्या हो । यसलाई निराकरण गर्न एक पक्षले मात्रै कार्यक्रम गरेर नहुने प्रहरी प्रमुख थापाको भनाई छ ।
सबै तहका सरकार,राजनितिक दल,नागरिक समाज सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा प्रहरी प्रमुख थापाको जोड रहेको छ ।आत्महत्याका घटना घट्नुमा अशिक्षा,गरिबी र बेरोजगारी संगै पछिल्लो समय सामाजिक सन्जालको दुरुपयोग पनि अर्को कारण रहेको छ ।
यस्तै कोभिड महामारी,आर्थिक संकट,बेरोजागारि,वैदेशिक रोजगारि,दिर्घ रोगि जस्ता कारकलेपनि आत्महत्यालाई प्रोत्साहन गरिहरको जानकारहरुले बताउने गरेका छन् । आत्महत्या न्युनिकरण गर्नको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानमा प्रहरी साझेदारी कार्यक्रम चलाउदै आएको छ ।








