गत आर्थिक वर्षमा स्याङ्जामा सवारी दुर्घटनामा ४० जनाको मृत्यु, ३३ जना गम्भीर घाइते
स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०७८/७९ मा २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्र पालिकाहरुमा सवारी दुर्घटना परी ४० जनाले ज्यान गुमाएका छन् ।
सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्याङ्जाले जनाएको छ । एक वर्षको अवधिमा १४ पुरुष, १५ महिला, दुई बालक र दुई बालिका गरी ३३ जना गम्भीर घाइते भएका थिए भने १५ जना मध्यम घाइते भएका थिए ।
ट्राफिक प्रहरी कार्यलयका अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा २४ धेरैले ज्यान गुमाएका छन् । गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वालिङ–१४ अर्खलवासस्थित ग्रामीण सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा स्याङ्जामा १५ सवारी साधन दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार पुरुष, तीन महिला र दुई बालबालिका थिए । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा स्याङ्जामा सवारी दुर्घटना, मृत्यु र घाइतेको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।








