४ पुस २०८२, शुक्रबार

रोल्पा सातोबाटो भ्यू टावरबारे महालेखाले फेरि उठायो प्रश्न,निर्माण कम्पनीबाट रकम असुल्न निर्देशन

प्रकाशित मिति :  29 July, 2022 12:49 pm



रोल्पा । रोल्पाको सातोबाटो भ्युटावर निर्माणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन-२०७९ मा फलामे डण्डीमा अनियमितता देखिएको भन्दै रु. २ लाख भन्दा बढी रुपैयाँ निर्माण कम्पनीबाट असुल्न भनेको छ । रोल्पा स्थिति सातदोबाटोमा भ्यू टावर निर्माणका लागि रोल्पा नगरपालिका र निर्माण व्यवसायी चक्रेश्वरी–ब्राइट–कुवर जे.भी.बीच ५ करोड ३१ लाख ४४ हजार ७ सय ५० लागतमा निर्माण सक्ने गरी २०७६ असार १२ गते सम्झौता भएको थियो ।

सम्झौता अनुसार निर्माण कार्य २०७८ असार ११ गते नै सम्पन्न गर्नुपर्ने थियो । भ्यू टावर निर्माण पुरा भएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरिसकेका छन् ।

तर निर्माणका क्रममा फलामे डण्डी निर्माण कार्यको लागत अनुमान तयार गर्दा नम्स अनुसार १.०५ टन राखेर तयार गरिएको थियो । फलामे डण्डीको वास्तविक काम भएको परिमाण नापी गर्दा पुन : खापिएको र नोक्सानीको परिमाण रखी २०६५ केजी थप भुक्तानी भएको महालेखाले प्रश्न गरेको छ । फलामे डण्डी वापत बढी भुक्तानी भएको २०६५ के.जी परिणाम प्रति के.जी. रु ११३ (मुल्यअभिवृद्धी कर समेत) का दरले हुने रु. २ लाख ३३ हजार ३ सय ४५ रुपैयाँ सम्बन्धित निर्माण व्यवसायीबाट असुल उपर गर्न भनेको छ ।

त्यस्तै पालिकाबाट निर्माण व्यवसायीलाई मुल्य समायोजन वाफत ८ लाख ६५ हजार ८ सय ४२ रुपैयाँ भुक्तानी भएकोबारे पनि महालेखाले प्रश्न उठाएको छ । मुल्य समायोजनका लागि मुल्य वृद्धि गणना गर्दा खरिद सम्झौताको विशेष शर्तमा उल्लेखित व्यवस्था अनुसार गणना नगरी भुक्तानी भएको देखिएको छ ।

महालेखाले मुल्य वृद्धि गणना स्पष्ट नभएकाले खरिद सम्झौता बमोजिम सूचाकं प्रयोग गरी मुल्य वृद्धि गणना गरी पेश गर्न भनेको छ ।

गत वर्ष पनि महालेखाले भ्यू टावरमा भएको अनियमितताबारे प्रश्न उठाएको थियो ।



प्रतिक्रिया दिनुहोस !