८ जेष्ठ २०८१, मंगलबार

विभिन्न कार्यक्रम गरि खीर दिवस मनाइने

प्रकाशित मिति :  30 July, 2022 10:03 pm


काठमाडौं । हरेक वर्ष साउन १५ गते मनाइने खीर दिवस यसवर्षमा औपचारिक कार्यक्रम गरि मनाइने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले एक कार्यक्रमको आयोजना गरि खीर दिवस मनाउन लागेको हो ।

यस वर्ष पनि सरोकारवाला सबैलाई भेला गरि कृषि तथा पशु पन्छी विकास मत्री र सचीवको विशेष उपस्तिथिमा ‘पोषिलो खीर, स्वस्थ्य शरीर’ भन्ने नाराका साथ बोर्डमा खीर दिवस मनाइने भएको हो ।

डेरी व्यवसायीको छाता संगठन नेपाल डेरी एसोसिएसनले पनि आफ्ना सातै प्रदेशमा विभिन्न स्थानमा खीरको महत्त्व बुझाउने एवं खीर खुवाउने कार्यक्रम राखेको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

“नेपाल डेरी एसोसिएसनले यस वर्ष श्रावण १५ मा ‘खीर खाऔं, आफ्नो परम्परा जोगाऔं’ भन्ने नाराका साथ देशभर सबैलाई खीर खान आव्हान गर्दछौँ,” अध्यक्ष दाहालले भने ।

विश्वमा खीर खाने प्रचलन १४ औं शताव्दीदेखि छिमेकी मुलुक चीनबाट सुरु भएको इतिहास पाइन्छ । खासगरी मध्यपूर्वी एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा बढी मात्रामा खीरको प्रचलन रहेको पाइन्छ । यूरोप र अमेरिकामा समेत खीरलाई एक विशिष्ट खानाका रुपमा प्रयोग गरेको पाइएको छ । छिमेकी मुलुक भारतको गुजरातमा खीरलाई दूधपाक, वंगालीमा पायस र श्रीलंकामा क्रिवथ नामबाट प्रयोग गर्ने गरेको पाइन्छ । सामान्यतया सय ग्राम खीरबाट ९२ क्यालोरी प्राप्त हुन्छ भने पानी ८८.९, कार्बोहाइड्रेड १६.४, प्रोटिन ३.३, फयाट १.३ र फाइवर ०.१ ग्राम प्राप्त हुन्छ।

यस दिन कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा हाम्रो देश कृषि प्रधान भएको नाताले यो दिनको बेग्लै महत्व रहेको छ । एक महिना अघि असार १५ गते दहि चिउरा खाए जस्तै साउनको १५ मा खीर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भने झैं साउनमा खीर खाइन्छ ।

यो पहिलेदेखि नै रहँदै आएको थिती भएको संस्कृतिविद्हरु बताउँछन् । साउनमा हरियो परियो धेरै पाइने हुनाले गाईले दुध बढि दिने हुँदा यो समयमा खीर खाने गरिएको हो भन्ने चलन पनि छ । हरेक शुभ साइतमा खीरको महत्व छ । त्रेया युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए भन्ने पनि सुनिन्छ । विभिन्न पूजा आजामा पनि चोखो मानी खीर खाने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ । खीरको धार्मिक महत्त्व पनि उत्तिकै छ ।

असार महिनामा रोपाँइ सकेपछि साउन १५ मा कृषकहरूले तातो खीर खाएर मनाउने गरेका हुन्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने जन विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खीर खाँदा सर्दिबाट जोगीने विश्वास पनि छ । साउन १५ मा खासै धार्मीक महत्त्व नदेखिए पनि साँस्कृतिक महत्व भने छ ।

साउन १५ मा घरपरिवारका सदस्यहरु एवं साथीभाई एकै ठाउँमा भेला भई रमाइलो गर्दै खीर खाने गरिन्छ । अहिले पछिल्लो समय अफिस, स्कुल, कलेजमा पनि खीर रमाइलो गर्दै खीर खाने चलन बढेर गएको छ । यसले पनि खीरको महत्त्व झन् बढाएको छ ।

आजभोलि स्वदेशमा रहेका नेपालीले मात्र होइन विदेशमा पुगेका नेपालीलले पनि खीर खाई आफ्नो परम्परा धानेको देखिन्छ । अन्य दिनका तुलमा यस दिन दोब्बरबढी दूध खपत हुने डेरी व्यवसायीको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस !