५ पुस २०८२, शनिबार

काेसीले कटान सुरू गरेपछि ठूलाे क्षेत्र जाेखिममा

प्रकाशित मिति :  3 August, 2022 11:43 am


काठमाडौं । उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसी नदीले कटान गरेर पश्चिम क्षेत्रमा पसेपछि नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका छन् ।

लगातारको वर्षासँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रका मानव वस्तीमा नदी पसेको र सो क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिएको नगर प्रमुख अशोक कार्कीले जानकारी दिए ।

नगरप्रमुख कार्कीले झण्डै २५ मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको जानकारी दिए । कोसीले कटान जारी रखेको छ । झन्डै ३ सय मिटर कटान गरेर धारै परिर्वतन हुन सक्ने खतरामा रहेकाले स्थानीयलाई सुरक्षित ठाउँमा जान अनुरोध गरिएको उनको भनाई छ ।

जोखिम क्षेत्रबाट सुरक्षित ठाउँमा लैजानेक्रम जारी छ । गृह मन्त्रालयले कोसी कटानले क्षति पुराउन सक्ने भन्दै उद्दारका लागि तयारी अवस्थामा रहने सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । हेलिकप्टरलाई पनि तयारी अवस्थामा राख्न भनिएको छ ।

जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम सुरु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !