नेकपा सल्यानका नेता केसीको हत्या आरोपमा एक जना पक्राउ
दाङ । विप्लव नेतृत्व नेकपाका नेता लोकमान केसीको हत्या आरोपमा सल्यान प्रहरीले १ जना पक्राउ गरेको छ ।
लोकमानका छोरा लोकेशकुमार खत्रीको जाहेरीका आधारमा छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लोकमान हिजो बिहाहन बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वन नजिकै मृत भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी सुमित खडकाका अनुसार टोपबहादुर थारमारे बजारमा लोकमानसँगै मदिरा सेवन गरी मोख्लाबजार जान सँगै निस्किएका थिए । जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोपबहादुरविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लोकमान नेकपा विशेष कमिटी सदस्य रहेका थिए ।
घटनास्थलको प्रकृति हेर्दा लडेर मृत्यु भएको अनुमान गरेपनि मृतक केसीका छोराले किटानी जाहेरी दिएपछि टोपबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।








