७ बैशाख २०८१, शुक्रबार

स्याङ्जामा बालिका हत्या आरोपमा दुईजना पक्राउ

प्रकाशित मिति :  8 August, 2022 6:39 am


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा ६ महिनाकी बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ वडा नम्बर २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका वडा नम्बर १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेकी लक्ष्मी राना मिन बहादुर रानाकी श्रीमती हुन् ।

यही साउन १० गते लक्ष्मी र ६ महिनाको छोरी अचानक सम्पर्क बिहिन भएपछि घरपरिवारले खोजतलास गर्दा छोरीको हत्या गरी अर्का हत्या आरोपी केदार कुमालसँग भागी विवाह गरेको पाइएको छ ।

भागी विवाह गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई साउन २० गते गल्याङबाट पक्राउ गरिएको हो । लक्ष्मी र केदारले साउन १० गते राति करिब १२ बजेको मध्यरातमा छोरीलाई घरकै अस्थायी चर्पीको खाल्टोमा फाली हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चर्पीको खाल्टोमा खोजतलास गर्दा बच्चाको लास सडेगलेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । आरोपित दुवैजनालाई ज्यान सम्बन्धि कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !