१५ बैशाख २०८१, शनिबार

कोरोना अपडेट: भक्तपुर मध्यपुरथिमिको ‘डेडिकेटेड’ सेवा

प्रकाशित मिति :  28 March, 2020 4:15 pm


भक्तपुर, १५ चैत ।
कोभिड–१९ बाट सङ्क्रमित हुन सक्ने नगरवासीका लागि मध्यपुरथिमि नगरपालिकाले ‘डेडिकेटेड’ एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना भाइरस सङ्क्रमितका लागि मात्रै प्रयोग गर्ने गरी नयाँ एम्बुलेन्स तयार गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ एम्बुलेन्सले अन्य बिरामी बोक्दैन, कोरोना सङ्क्रमितहरुका लागि भनेरै विशेष किसिमको एम्बुलेन्स तयार पारिएको हो, एम्बुलेन्स चलाउने चालकलाई ‘पर्सनल प्रोटेक्सन इक्विपमेण्ट (पिपिई)’ व्यवस्था गरिएको र चालक बस्ने ठाउँलाई ‘पार्टिशन’ गरेर सुरक्षित बनाइएको छ ।” नगरपालिकाले शुक्रबारदेखि नगरभित्र ‘सेनेटाइज’ गर्ने प्रक्रिया पनि शुरु गरिसकेको छ ।

शुक्रबार एउटा गाडीबाट शुरु गरिएको भए पनि शनिबार थप दुई गाडीबाट ‘सेनेटाइज’ गर्ने काम भइरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । आफ्नै ७२ श्ययाको अस्पताल सञ्चालन गर्ने भनिएको नेपालकै एक मात्र नगरपालिका मध्यपुरथिमिले चार श्ययाको ‘परमानेन्ट आइसोलेशन वार्ड’ तयार गरिसकेको छ । यससँगै ‘भेन्टिलेटर’ पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगर अस्पतालमा कार्यरत चिकित्सकलाई पिपिई उपलब्ध गराइसकिएको छ ।
नगरको नेपाल कोरिया मैत्री अस्पतालसँगै नागरिक र मध्यपुर अस्पताललाई पनि १२ थान पिपिई उपलब्ध गराइएको छ । नगरपालिकाले अस्पतालमा कार्यरत २५ चिकित्सकलाई आवास तथा खानाको व्यवस्थासमेत मिलाएको छ । यसबाट कुनै पनि बेला आवश्यकता पर्दा तैनाथ गर्ने गरी चिकित्सकलाई तयारी अवस्थामा राखिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरसभाबाट निर्णय नै गराएर विपद् व्यवस्थापन कोषमा रु एक करोड र अस्पताल सुधार योजनामा रु छ करोड विनियोजन गरिएकाले यतिबेला काम गर्न निकै सहज भएको नगर प्रमुख श्रेष्ठको अनुभव छ ।
नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएकाहरुबाहेक अन्य सामान्य बिरामी अस्पतालसम्म आउनु नपरोस् भनेर ‘डेडिकेटेड टेलिफोन नम्बर’ समेत नगरवासीलाई उपलब्ध गराएको छ । सोमार्फत मध्यपुरथिमिवासीले टेलिफोनबाटै चिकित्सकसँग आफ्नो समस्या राखेर औषधिको सिफारिश लिन सक्नेछन् । कोभिड १९को शङ्का लागेर सम्पर्कमा आउने व्यक्तिको नमूना परीक्षणका लागि नगरपालिकाले आफँैले किटको व्यवस्था गरेकाले घरमै गएर नमूना सङ्कलन गरी टेकु पठाउने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
रासससँग कुरा गर्दै प्रमुख श्रेष्ठले भन्नुभयो, “हामीले अहिलेसम्म परीक्षणका लागि टेकु पठाएको नमूनाअनुसार कुनै पनि व्यक्तिमा कोरोना देखिएको छैन, विदेशबाट आएका ३५ जना व्यक्तिको पहिचान भइसकेकाले उनीहरुलाई घरमै क्वारेन्टाइनमा राखिएको र चिकित्सकले फलोअप गरिरहनुभएको छ ।” जनप्रतिनिधिको तलब सुविधा कानूनविपरीत भएको भन्दै सर्वाेच्च अदालतले निर्णय गरेपछि विनासुविधा काम गरिरहेका जनप्रतिनिधिले कुनै सुविधा माग नगरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बरु हिजोभन्दा झन् बढी सक्रिय भएर खटिएका छौँ ।” प्रत्येक वडा तहमा नगरवासीलाई सूचना र सुरक्षा प्रदान गर्न माइकिङको व्यवस्था वडाध्यक्षहरुले मिलाउनुभएको छ । तथापि लकडाउनका बेलामा बाहिर निस्कनेको सङ्ख्या बढिरहेको छ भन्दै नगरप्रमुख श्रेष्ठले त्यस्ता व्यक्तिप्रति कठोर निगरानी भइरहेको बताउनुभयो । मध्यपुरथिमिमा नेवारी समुदायको वर्चस्व रहेको र झुरुप्प खाँदिएको बस्ती रहेका कारण विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । स्थानीय भाषामै सूचना प्रवाह गर्दै आइरहेको नगरपालिकाले गम्भीरताका साथ काम गरिरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँले यतिबेला त्रासको अवस्था भए पनि नगरवासीलाई त्यसबाट मुक्त गराई “म सुरक्षित छु है” भन्ने अवस्थासम्म पु¥याउनु नै अहिलेको महत्वपूर्ण चुनौती रहेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “यो योजना बनाएर बस्ने बेला होइन, आजै र अहिले नै गरिहाल्ने बेला हो र हामीले परिणाम नै देखाइसकेका छौँ ।”



प्रतिक्रिया दिनुहोस !