६ चैत्र २०८०, मंगलबार

कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुनको नजर प्रदेश सभातिर,‘भावी मुख्यमन्त्री’काे तयारी

प्रकाशित मिति :  10 August, 2022 3:27 pm



काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले रोल्पाबाट प्रदेश सभा सदस्य चुनाव लड्ने तयारी गरेका छन् ।

संविधानसभा सदस्य र राज्य मन्त्री समेत भइसकेका सभापति पुनको ध्यान प्रदेश सभा र ‘भावी मुख्यमन्त्री’तिर देखिएको छ । सभापति पुनले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने, “साथीभाइ लगायतको सुझाव प्रदेश सभा सदस्यका लागि तयारी गर्नुस् भन्ने आएको छ तर रोजाई त फेरि प्रतिनिधि सभा नै हो ।”

लुम्बिनी प्रदेश सभापति भएकाले पनि प्रदेश सभाका लागि निर्वाचित भएको अवस्थामा पुन स्वत ‘ मुख्यमन्त्री’ हुन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पुन तत्कालीन बाम गठबन्धनका उम्मेद्वार एव नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग पराजित भएका थिए । अहिले प्रदेश र केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनको सरकार छ भने प्रदेश र संघको चुनावमा पनि सँग जाने शैद्धान्तिक सहमति भइसकेको छ ।

एउटा प्रतिनिधि सभा र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रोल्पामा २०७४ सालमा बामगठबन्धन अन्तर्गत सबै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । पुनले प्रदेशमा चासो देखाएपछि गठबन्धन गर्दा माओवादी केन्द्रले राेल्पामा प्रदेश अन्तर्गत एउटा क्षेत्र छोड्नुपर्ने छ । स्थानीय निर्वाचनमा गठबन्धनप्रति असहमति जनाएका पुन प्रदेश र प्रतिनिधि सभा चुनावका लागि भने सकारात्मक देखिएका छन् । उनले भने,“ सबै कुरा हेरेर चुनावको तालमेल हुन्छ, केन्द्रको निर्णय अनुसार नै अगाडि बढ्नुपर्छ । ”

लुम्बिनी प्रदेशमा अहिले पनि कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन सरकार छ । गठबन्धन सरकार बन्दा यसै कार्यकालमा नै पालैपालो मुख्यमन्त्री लिने दुईपार्टीबीच सहमति भएको थियो । तर कांग्रेस लचिलो देखिएपछि माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीले नै निरन्तरता पाएका छन् ।

आगामी चुनावमा गठबन्धनको बहुमत आए कांग्रेसले मुख्यमन्त्री दाबी गर्ने छ र कारण अहिलेको कार्यकाललाई देखाउने छ । चुनाव जितेर आएको खण्डमा र पार्टीभित्रको आन्तरिक समिकरण मिलाएको अवस्थामा पुन मुख्यमन्त्रीको दाबेदार हुने छन् । पुनले भने,“ प्रदेशको तयारी गर्नुको अर्थ मुख्यमन्त्रीका लागि त हुने नै भयो, साथीहरूको सुझाव पनि यै छ ।”

पुनले रोल्पा प्रदेश सभा (ख) लाई आफ्नो क्षेत्र बनाउने तयारी गरेका छन् । पुनले प्रदेश सभाका लागि नै चुनाव लड्ने तयारी गरे र गठबन्धनमा कुनै सन्तुलन नबिग्रिए प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका उम्मेदवारलाई सजिलो हुने छ ।

सरकारले आगामी मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभाका लागि चुनावको घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !