१२ बैशाख २०८१, बुधबार

भीरकोट नगरपालिकाले फोहोर बेचेर कमायो करिब १० लाख रूपैयाँ

प्रकाशित मिति :  12 August, 2022 6:36 pm


स्याङ्जा । काठमाडौंँमा महानगरका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन नगर्दासम्म खादा र माला नलगाउने घोषणा नै गरे । फोहोर व्यस्थापनका लागि दिर्घकालिन समाधान दिने भन्दै उनले क्षमताले भ्याएसम्मका जोडबल लगाएर खटिएका छन् । देशका धेरै पालिकालाई फोहोर व्यवस्थापन ठूलो चुनौतीका रुपमा देखिएका बेला स्याङ्जाका केहि पालिका भने फोहोर व्यवस्थापनमा सफल देखिएका छन् ।

स्याङ्जाको भीरकोट नगरपालिकाले फोहोरमैला व्यवस्थापनबाट वार्षिक १० लाख आम्दानी गर्दै आएको छ । नगरपालिकाको वडा नम्बर ४ मा फोहोरलाई महोरमा परिणत गर्न फोहोर संकलन केन्द्र बनाएको छ ।

नगरपालिकाले बजारक्षेत्रबाट संकलन हुने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने र पुनः प्रयोगमा आउने सिसा, फलाम र प्लाष्टिकजन्य फोहोरलाई बिक्री वितरण गर्दै आएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा फोहोरमैला व्यवस्थापनबाट छ लाख छ हजार छ सय ५४ रुपैंया आम्दानी गरेको थियो भने यस आर्थिक वर्षको २०७८/७९ मा नौ लाख आठ हजार पाँच सय ६२ रुपैंया आम्दानी गरेको नगरपालिकाका फोहोरमैला व्यवस्थापक कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालले भने, “केही प्रविधिक समस्याका कारण नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न असहज भएको छ । केही दिनमा आधुनिक तरिकाले फोहोर व्यवस्थापन गर्न मेसिन जडान गरिन्छ । त्यसपछि फोहोरबाट अझै राम्रो आम्दानी हुनेछ ।’’

फोहोरमैला व्यवस्थापनको निम्ती सरसफाई केन्द्रमा ७ जना कर्मचारी कार्यरत छन् । नगरपालिकामा बजार क्षेत्र कम भएकाले फोहोर व्यवस्थापन गर्न सहज भएको अर्यालको भनाइ छ । नगरपालिकाले वडा नं १ को बयरघारी, हेलु, वडा नं २ को बयरघारी, दहथुम, वडा नं ४ को झारूङखोला, गैह्राथोक, छायाँक्षेत्र र वडा नं ५ र ६ को सुन्दरबजार क्षेत्रबाट नियमित रूपमा फोहरमैला संकलन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !