१५ चैत्र २०८०, बिहिबार

कृषि विज्ञ पौडेलेको संघीय निर्वाचनमा उम्मेदवारी घोषणा

प्रकाशित मिति :  14 August, 2022 1:31 pm


काठमाडौं । खानाको लागि खेतिपाती अभियन्ता कृष्ण प्रसाद पौडेलले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिने भएका छन् । शनिबार चितवनमा पत्रकार सम्मेलन गर्दै पौडेलले आउँदो संघीय चुनावमा उम्मेद्वारी दिने घोषण गरेका हुन् ।

कार्यक्रमकोबीचमा पौडेलले आधारभूत वस्तुमा परनिर्भर नहुदाँ हाम्रो समृद्धि दिगो नहुने बताउँदै खाना र खेतीपातीको सवाल संबोधन नगरी समाजवादको परिकल्पना अर्थहीन हुने बताएका छन् ।

पौडेलले आफ्ना मुख्य नितिगत उद्देश्यको रुपमा माटो विषमुक्त राख्ने, मानव स्वास्थ्य जोगाउने, खाना र खेतीपाती सपार्ने, स्थानीयतामा आधारित प्रकृतिसम्मत विकासमा जोड दिने, र राजनीतिक नेतृत्वमा युवा हस्तक्षेपको लागि सहजीकरण गर्ने रहेको बताएका छन् ।

समाजको खेती प्रणाली, माटो, खाना, चुलिँदो आयात, वैदेशिक पलायन रोक्न अब राजनीतिक हस्तक्षेप आवश्यक रहेको र नेतृत्वमै पुग्नुपर्ने भएकाले आफुले उम्मेद्वारी दिएको उनले बताए । नेतृत्वमा पुग्ने व्यक्ति कसैले आजसम्म खाना र खेतीपातीका मुद्धा नउठाएकाले आफैंले नेतृत्व गर्नुपर्छ भनेर लागेको पौडेलको भनाइ छ ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दावी गरेका भरतपूरका स्थानीय वासिन्दा पौडेल पेसाले कृषि विज्ञ हुन् । पौडेलको प्राज्ञिक जीवन कृषि, पर्यावरण र खानपिनसँग सम्बन्धित छ । उनले रामपुरबाट कृषिमा बिएस्सी गरेका छन् भने बेलायतबाट वन विज्ञानमा स्नातकोत्तर गरेका छन् । उनले प्राकृतिक श्रोत र मानिसको सम्बन्ध अध्ययन गरेर विद्यावारिधि हासिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !