६ पुस २०८२, आइतबार

वालिङ नगरपालिकामा तीज विशेष मेला हुने

प्रकाशित मिति :  14 August, 2022 6:34 pm


स्याङ्जा । स्याङ्जाको वालिङमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा तीज मेला तथा खुल्ला तिज गीत प्रतियोगिता हुने भएको छ । वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ३ गते वालिङ तीज मेला २०७९ को आयोजना गरेको हो ।

नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर जन्माष्टमीका दिन तिज मेलाको आयोजना गरिएको महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुषालले जानकारी दिइन् । वलिङ स्थित सिटिहलमा हुने तिज मेलामा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ भने स्थानीय कलाकारहरुले गायन तथा नृत्य प्रर्दशन गर्नेछन् । वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी समितिले प्रत्येक वर्ष तीजको अवसर पारेर तिज मेलाको आयोजना गर्दै आईरहेको छ ।

अध्यक्ष भुषालले भनिन्, “तीजको मौलिकतालाई जर्गेना गर्ने र महिला उद्यमीहरुलाई एकिकृत गर्न तीज मेला कार्यक्रम जस्ता विभिन्न कार्यक्रमले महिलाहरुलाई सशक्त रुपमा अगाडि बढाउन सहयोग गर्छ ।’’

तीज पछिल्लो समय मौलिकतामा भन्दा भडकिलोपनमा अग्रसर भएको देखिएकाले तिजको मौलिक परम्परालाई जोगाउन, समसामयिक घटनाक्रमलाई गीतमार्फत प्रस्तुत गर्न, सामाजिक सद्भाव बढाउन समितिले तीज मेला कार्यक्रम गर्दै आईरहेको अध्यक्ष भुषालको भनाइ छ ।

पछिल्लो समय महिलाहरु उद्यमशीलता मार्फत आर्थिक तथा सामाजिक रुपले शसक्त भएको भन्दै यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास लिईएको छ । प्रतियोगितामा पहिलो हुनेले १३ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ८ हजार र चौथो स्थान प्राप्त गर्नेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !