सरकारले तीन बुँदे सहमति तत्काल कार्यान्वयन नगरे आन्दोलनमा जाने नेकपा (बहुमत)को चेतावनी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । नेकपा बहुमतले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर तीनबुँदे सहमतिबाट सरकार पछि हटेको आरोप समेत लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको पेश भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए ।
“हामीसहित तत्कालिन नेकपा र ओली नेतृत्वको सरकारबीच भएको सहमतिबाट देउवा नेतृत्वको वर्तमान सरकार पछि हटेको छ , यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकार सहमतिबाट पछि हट्न स्वतन्त्र छ भने हामी पनि संघर्षमा जान स्वतन्त्र छौं” संयोजक बास्तोलाले भने ।
संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको बताए । उनले भने, “सरकारले सहमतिबाट पछि हटेर ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको छ,यो भनेको गम्भीर कुरा हो , यसले समस्या समाधान होइन थप जटिलता ल्याउछ ।”
बास्तोलाले सरकारलाई सहमति कार्यान्वयन गरी बन्दीलाई तत्काल रिहा गर्न आग्रह समेत गरे ।
चुनाव बहिष्कार
एक अर्को प्रसंगमा संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए । अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने बताउँदै आफ्नो पार्टी सहभागी नहुने बताउँदै बास्तोलाले भने, “यो व्यवस्था नै जनता विरोधी छ, यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ, यसबाट जनताले केही पाउँदैनन् ।”
उनले यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै प्रतिनिधिहरुले जित्ने बताए ।








