गठबन्धनमा रोल्पाबाट प्रदेश सभा सदस्य उम्मेदवारका आकांक्षी को को ?
राेल्पा। सरकारले मंसिर ४ गते प्रदेश र संघीय चु्नावको घोषणा गरेपनि दलहरूले अझै उम्मेदवारको टुंगो लगाईसकेका छैनन् । यद्यपी अकांक्षीहरूले आफ्नो अनौपचारिक अभियान जारी राखेका छन् ।
रोल्पामा प्रदेश सभाका लागि अनौपचारिक छलफल र आकांक्षा व्यक्त गर्नेक्रम सुरु भएको छ । रोल्पामा संघका लागि १ निर्वाचन क्षेत्र र प्रदेशका २ वटा क्षेत्र छन् । नेकपा(माओवादी केन्द्र)का नेता धेरै भएका कारण व्यवस्थापनमा जटिलता भएपनि सम्भावित उम्मेदवारस्थानीय चुनावअघिदेखि नै सक्रिय भइरहेका छन् ।
निर्वाचन क्षेत्रनम्बर १ (क) का लागि माओवादी केन्द्रबाट जोगबहादुर महराले स्थानीय चुनाव अघिदेखि नै सक्रियता बढाइसकेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा लामो समयदेखि कार्यरत रहेका महरा पहिलो पटक प्रत्यक्ष रुपमा चुनावी मैदानमा उत्रने तयारी गरेका हुन् । संविधान सभा सदस्य भइसकेका महराले आगामी प्रदेश चुनाव लक्षित गरेर नै स्थानीय चुनाव भन्दा केही महिना पहिलो‘ हेडक्वार्टर छोडेर’ भूगोलमा सक्रिय बन्न पुगेका थिए ।
प्रदेश (क) बाट २०७४ को चुनावमा माओवादी केन्द्रकै कुलप्रसाद केसी निर्वाचित भएका थिए जो लुम्बिनी प्रदेशको मुख्यमन्त्री छन् । महराले आफ्नो अडान नछोडे केसीले प्रदेश (क) छोड्नुपर्ने छ ।
प्रदेश (ख) चुनाव क्षेत्रमा दिपेन्द्रकुमार पुन फेरि दोहोरिन चाहेका छन् । पुन नै दोहोरिन चाहेको अवस्थामा केसीको व्यवस्थापन जटिल बन्ने छ । माओवादी केन्द्र स्रोतले भन्यो,“पार्टीले मुख्यमन्त्रीकै रुपमा अगाडि बढाउन चाहे सोनाम जीलाई एउटा क्षेत्रबाट उठाउने छ यस्तो अवस्थामा पुन वा महरा पछि हट्नुपर्ने छ ।”
निर्णय कुर्दै
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनले संघ र प्रदेशमा चुनावमा संगै जाने निर्णय गरिसकेका छन् । रोल्पा माओवादी केन्द्रको प्रभाव क्षेत्र भएकाले संघमा उसको दाबी हुने छ । यसका लागि प्रदेशमा गठबन्धनको व्यवस्थापन गर्नुपर्ने हुन सक्छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले रोल्पा प्रदेश (ख) मा दाबी गर्न सक्छन् ।
प्रतिनिधि सभामा दाबी गर्दै आएका पुनले पछिल्लो समय भावी प्रदेश रोज्न सक्ने संकेत गरिसकेका छन् । पुन निर्वाचित भएको खण्डमा कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार पनि हुन् । प्रदेश सभा सदस्यका आकांक्षी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य महराले भने,“ पहिले त गठबन्धनले निर्णय गर्नु पर्यो, त्यसपछि पार्टीले निर्णय गर्नु प¥यो अनि बल्ल हुन्छ, म पनि अकांक्षी त स्वभाविक रुपमा छु ।”
आन्तरिक रुपमा छलफलमै रहेकाले प्रदेश सभा सदस्यका आकांक्षीले भने अझै सार्वजनिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।








