१३ पुस २०८२, आइतबार

राष्ट्रपतिसँग प्रचण्डले भने : नागरिकता विधेयकलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद

प्रकाशित मिति :  31 August, 2022 5:40 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद रहेको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे चासो राखेपछि अध्यक्ष प्रचण्डले अनावश्यक राजनीतिकरण गरिएको भन्दै दुख्ख व्यक्त गरेका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले भने,“वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति ज्युले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन । यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं ।”

सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको अध्यक्ष प्रचण्डले बताएका उनको सचिवालयले जनाएको छ । उनको भनाई थियो,“ तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरू राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो ।”

अध्यक्ष प्रचण्डले अहिलेको विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरि राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको समेत स्मरण गराएका थिए ।

नागरिकता विधेय राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् तर प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले समितिमा पठाएको छ । आफ्नो सुझावलाई वेवास्था गरेपछि राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् ।



प्रतिक्रिया दिनुहोस !