डाइभर्सनमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पुन: अवरुद्ध
प्रकाशित मिति : 2 September, 2022 8:27 am
बुटवल । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ ।
निरन्तर वर्षाले पाल्पा बुटवल सडकखण्डको केराबारी नजिक सडक भासिएपछि गएरातिदेखि डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको बताए । अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए ।








