१२ बैशाख २०८१, बुधबार

द्वन्द्वकालको झल्को दिने नाटक ‘असुर’को मञ्चन सुरु, ओजस थिएटरमा असोज ८ सम्म चल्ने

प्रकाशित मिति :  2 September, 2022 11:42 am


काठमाडौं । तपाई पछिल्लो युवापुस्ता उमेर समूहको हुनुहुन्छ भने द्वन्द्वकालका कस्ता घटना हुन्थे भनेर थाहा नहुन पनि सक्छ । द्वन्दकालको उत्कर्ष अर्थात वि.सं. २०५८ देखि २०६२/६३ सालमा देशमा कस्ता गतिविधी हुन्थे, देशको परिवेश कस्तो थियो? तपाईकाे यस्ता गुनासो बुधबारबाट मञ्चन भएको नाटक ‘असुर’ ले मेटाउन सक्छ ।

नाटककार रविन दोङद्वारा लिखित असुरले द्वन्द्वकालको उत्कर्षमा देशको परिवेशलाई ऐनाले जस्तै छर्लङ्ग देखाउने प्रयास गरेको छ । पितृसतात्मक सोचमा महिलाको जीवनलाई कसरी दमनमा राखिन्छ भन्ने विषय पनि नाटकको प्रमुख आकर्षण हो । विवेक न्यौपानेले निर्देशन गरेको उक्त नाटकमा द्वन्द्वकालको घटना र समाजले विगतको दिनमा भोगेको भोगाईलाई कलात्मक तवरबाट उठाइएको छ ।

क्रान्तिको नाममा आम जनमानसले भोगेको सास्ती नै (असुर) नाटकको मुख्य अभिप्राय हो । कलावति, नरेन्द्र र जुद्ध प्रसादको पेरिफेरिमा रहेर नाटककारले उचित भाषाको संयोजन गरी नाटकलाई मूर्तरूप प्रदान गरेका छन् । मोना, प्रभाकर, ज्वाला, मगर कान्छा, चन्द्रे आदी पात्रहरुले नाटकलाई थप जीवन्त बनाएका छन् ।

ध्वनी संयोजन, प्रकाश, बासुँरी र तबलाको संयोजनले नाटकलाई सुनमा सुगन्ध थपेको छ । भदौ १५ गते बुधबार मञ्चन भएको यस नाटकले शक्ति प्राप्त गरेपछि एक व्यक्तिले के-कतिसम्म गर्न सक्छ भन्ने कथाले देखाउँछ।

राजन कार्की र शंकर कार्कीको निर्माण रहेको नाटकमा केशवसिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्रसिंह कुशवाहा, अस्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंसा गहतराज र शुक्रराज मगरको अभिनय छ। चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन्।

नाटकमा विवेक न्यौपानेले ध्वनि सम्पादन, उदिप सिवाकोटीले प्रकाश परिकल्पना, रविन दोङले मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री र शेखर दाहालले मञ्च व्यवस्थापन काम गरेका छन्।

भदौ १५ देखि मन्चन सुरु भएको नाटक असोज ८ सम्म चल्ने जनाइएको छ। नाटक बिहिबार बाहेक हरेक दिन बेलुका ५ ३० बाट सुरू हुने जनाइएकाे छ । शनिबार अतिरिक्त साे १ बजे चल्ने थिएटरले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !