७ पुस २०८२, सोमबार

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेललाई प्यूठानमा ‘टिकट पाउन समस्या’

प्रकाशित मिति :  2 September, 2022 12:20 pm


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल निकै सकृय थिए ।

लुम्बिनी प्रदेशमा उनको राजनीतिक सकृयता लोभलाग्दो थियो । खासगरी प्यूठान र रोल्पामा पोखरेल निकै खटेका थिए । यो खटाइका कारण थियो पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यको तयारी गरिरहेका थिए । दोस्रो, नजिकिदै गरेको स्थानीय, प्रदेश र संघको चुनाव थियो ।

पहिलो अभियानमा पोखरेल सफल भए अर्थात नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए । तर, केन्द्रीय सदस्य निर्वाचित भए लगत्तै पोखरेलको सकृयता घट्दै गयो । स्थानीय तहमा पार्टीलाई जिताउनुपर्ने बाध्यताकाबीच प्रदेश र संघको चुनाव घोषणा हुँदासम्म पोखरेलको सकृयता चुनावी अभियान भन्दा टेलिभिजन कार्यक्रम सञ्चालनमा केन्द्रित देखिन्थ्यो ।

पोखरेल प्यूठानमा २०७४ सालको प्रतिनिधि सभा चुनावमा बाम गठबन्धनकी उम्मेदवार एवं राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसँग पराजित भएका थिए । राजनीतिक छवि बनाउन सकृय पोखेल प्यूठानबाट यसपटक पनि स्वभाविक रुपमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको दाबेदार हुन् ।

गठबन्धनले अफ्ठेरो

२०७४ सालमा पोखरेलको तगारो बाम गठबन्धन बनेको थियो । यसपटक पनि गठबन्धनले नै अफ्ठेरो पारेको छ तर त्यो आफ्नै पार्टीको गठबन्धन हो । यसपटक केन्द्रमा नेपाली कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ र नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिइरहेका छन् ।

प्रदेश र संघको चुनावमा पनि गठबन्धनले संगै जाने निर्णय गरेर सिट बाँडफाँटमा लागिसकेका छन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाका लागि प्यूठान र बागलुङ मागेको छ । राष्ट्रिय जनमोर्चाले दाबी गरिरहँदा गठबन्धनको साथ लागेका वामदेव गौतमले समेत प्यूठान माग गरिरहेका छन् ।

राष्ट्रिय जनमोर्चाले प्यूठान आफ्नो प्रभाव क्षेत्र मान्छ जसका कारण पौडेललाई फेरि दोहो¥याउन चाहन्छ । पौडेल जनमोर्चाको मातृ पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती समेत हुन् । पौडेललाई व्यवस्थापन गर्नुपर्ने गठबन्धनलाई बाध्यता छ । यो बाध्यताको चेपुवामा पोखरेल परेका छन् ।

लुम्बिनी सञ्चारसँग कुरा गर्दै पोखरेलले भने,“गठबन्धन अगाडि बढाउनुपर्ने छ, प्यूठानमा ‘नो चान्स’, बामदेव जि त जानुहुन्न होला तर जनमोर्चाले दाबी गरेपछि छोड्नुपर्ने अवस्था छ ।”

यद्यपी पोखरेल टिकट पाउन भने प्रयास गरिरहेका छन् । लुम्बिनी प्रदेश कांग्रेसले गठबन्धनलाई थप बलियो बनाउनुपर्ने भएकाले पनि आफ्नो जिल्लामा पोखरेलले थप सदासयता देखाउनुपर्ने बाध्यता आइलागेको छ ।



प्रतिक्रिया दिनुहोस !