राप्रपा अध्यक्ष लिङ्देनको घोषणा,‘यो कार्यकालका लागि म अब संसद छैन’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आफू सांसदको हैसियतमा संसदमा नरहेको बताएका छन् ।
प्रतिनिधि सभामा यो कार्यकालका लागि आफ्नो अन्तिम बैठक भएको भन्दै तलब भत्ता सबै रोक्न सभामुख र संसद सचिवालयलाई आग्रह गरेका छन् । चुनाव घोषणा भइसकेपछि चुनावी सरकार बनाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको भन्दै लिङ्देनले संसदको कार्यकाल पनि सकिनुपर्ने उनको जोड थियो ।
उनले भने,“ जब चुनावको घोषणा भयो, त्यसदिनदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीको के धारणा थियो भने निर्वाचन घोषणा भइसकेपछि यसप्रकार संसद चलिराख्नु,संसद जीवित राख्नु उपयुक्त हुँदैन भन्ने थियो । त्यसमा पनि प्रजातन्त्रमा विश्वास राख्ने दलहरूले निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र धादलीरहित बनाउनका लागि सरकार समेत चुनावी सरकारमा परिणत गर्ने वा निष्पक्ष सरकार बनाउनुपर्छ भन्ने धारणा थियो ।”
संसदको आयु मंसिर ४ गते पछि पनि अर्थात नयाँ संसद गठन नहुँदासम्म कायम राख्ने विषय आफूलाई मान्य नभएको लिङ्देनको भनाई थियो ।
उनले भने,“संसदको आयु मंसिर ४ गतेपछि पनि राख्ने निर्णय प्रकृया प्रारम्भ भएका छन्,त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । मैले बाटोबाटै संसद छैन भनेर हिँड्नुको अर्थ हुँदैन,कमसेकम संसदमा उभिएर , सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर म संसदमा उपस्थित भएको छु र यहीबाट घोषणा गर्न चाहन्छु कि आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन ।”
उनले सभामुख, संसद सचिवालयलाई आफ्नो नाममा पठाईने तलब भत्ता, सुविधा समेत रोक्का गर्न मार्गै भने,“ मैले लेखेर दिनुपर्छ भने पनि नियम अनुसार दिन पनि तयार छु । यस प्रकारको अनैतिक काममा सहभागि हुन कमसेकम मेरो आत्माले मानेन ।”








