रोल्पा पुगेर उपाध्यक्ष महराले भने,‘माओवादी आन्दोलन र नेतृत्वमाथि चौतर्फी घेराबन्दी छ’
राेल्पा । नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी आन्दोलन र माओवादी नेतृत्वलाई देशी विदेशी शक्तिले घेराबन्दी गरेको दाबी गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) रोल्पाले आयोजना गरेको प्रदेश निर्वाचन स्तरीय नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै उपाध्यक्ष महराले घेराबन्दी तोड्न सबै माओवादी शक्तिलाई एक गर्नुपर्नेमा जोड दिए ।
उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनलाई विजय बनाएमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहज हुने उल्लेख गरे । उपाध्यक्ष महराले पार्टीको केन्द्रीय महाधिवेशनले पारित गरेको समाजवादी क्रान्तिको नारालाई पुरा गर्नका लागि हरेक नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले रोल्पा जिल्लालाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । उनले रोल्पा जिल्ला र जनताको आबश्यकता धेरै भएकाले गर्दा सोचेजस्तो विकास हुन नसकको तर्क गरे ।
स्थायी समिति सदस्य केसीले रोल्पा जिल्लाबाट फेरी पनि लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्न सक्ने उमेद्वार छनौट गर्नका लागि रोल्पा सम्वेदनशील बन्नु पर्नेमा जोड दिए ।








