मापदण्डमा अनुसार बनेका भवनको ९० दिन भित्र नक्सा पास गर्न महानगरको निर्देशन
प्रकाशित मिति : 8 September, 2022 10:13 am
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ९० दिन भित्र नक्सा पास गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाले बिहीवार सार्वजनिक सूचना जारी गर्दै ९० दिनभित्र नक्सा पास गर्न निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत , निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र मा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरेको छ ।
तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार ऐन २०७४ र प्रचलित भवन निर्माण मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिने महानगरको शहरी व्यवस्थापन विभागले सुचनामा उल्लेख गरेको छ ।








