८ पुस २०८२, मंगलबार

तीन बुँदे सहमति कार्यान्वयनका लागि सरकारसँग ‘अन्तिम कुरा’ सुरु : प्रकाण्ड

प्रकाशित मिति :  9 September, 2022 12:55 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि सरकारसँग ‘अन्तिम कुरा’ सुरु गरेको बताएको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारसँग सहमति कार्यान्वयनबारे अन्तिम कुरा सुरु गरेको बताएका हुन् ।

नेकपाका तत्कालीन नेता चन्द्रबहादुर चन्द‘वीरगञ्ज’को स्मृतिमा प्रकाशन भएको ‘स्मृतिमा वीरजंग’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा आज बोल्दै प्रवक्ता प्रकाण्डले सरकार गम्भीर नभए अब ‘वारपार’ हुने चेतावनी दिए । उनले सहमति कार्यान्वयनबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई यसबारे समयसीमा दिएको बताएका हुन् ।

प्रकाण्डले भने,“मुद्दा खारेज हुनुपर्छ र बन्दी साथीहरूलाई छोड्नु पर्छ र हिजो एउटा सहमति भएको छ । अन्तिममा के हुन्छ भन्न सकिदैन तर प्रधानमन्त्रीसँग एकखालको सहमति भएको छ ।” पछिल्लो समय महासचिव नेक्रविक्रम चन्द‘विप्लव’सहितका शीर्ष नेता विरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा आक्रोशित छ । महासचिव विप्लवले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाएर सार्वजनिक कार्यक्रममा सहभागि हुन छोडेका छन् ।

प्रवक्ता प्रकाण्डले भने,“सरकारसँग अन्तिम कुरा गर्नुपर्छ भनेर पनि हामीले सुरु गरिसकेका छौं । हिजो मात्रै प्रधानमन्त्रीसँग कुरा भएको छ । राजनीति ढाटेर छलेर हुने कुरा होइन, सिधा सिधा भन्नुस् भनेका छौं ।”

प्रवक्ता प्रकाण्डले हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोविन्द बन्दीलगायतसँग संयुक्त छलफल गरेका थिए । तीन बुँदे सहमति गरेर शान्ति प्रकृयामा आएको नेकपाका कतिपय कार्यकर्ता अझै रिहा हुन सकेका छैनन् भने शीर्ष नेतृत्व विरुद्ध समेत अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपा झस्किएको छ ।



प्रतिक्रिया दिनुहोस !