८ पुस २०८२, मंगलबार

आगामी चुनावका लागि ‘व्यवस्थापन’को खोजीमा मुख्यमन्त्री के.सी.

प्रकाशित मिति :  9 September, 2022 1:59 pm


फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गर्‍यो ।

६ जना मध्ये एक जना हुन लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ । तर, सोनामको नाम प्रदेश सभा (ख)बाट पनि प्रत्यक्ष तर्फ सिफारिस भएको छ । रोल्पाबाट प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा प्रत्यक्ष तर्फ सिफारिस हुनेमा नेपाली कांग्रेसबाट अमरसिंह पुन र माओवादी केन्द्रबाट कुलप्रसाद के.सी. छन् ।

के.सी.ले २०७४ को चुनावमा रोल्पा (क) बाट चुनाव जितेका थिए । यसपटक संघ र प्रदेशमा जिल्लाबाट सिफारिस भएका छन् ।
रोल्पामा प्रतिनिधि सभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र छ र ६ जनाको नाम सिफारिस भएको छ । पूर्व सभामुख कृष्णबहादुर महरा दाङ २ बाट निर्वाचन लड्ने बताए पनि रोल्पाबाट समेत सिफारिस भएका छन् ।

स्रोतका अनुसार जिल्ला समन्वय समितिको बैठकमा आफू रोल्पामा चुनाव नलड्ने भएपनि १ नम्बरमा सिफारिस गर्न आग्रह गरेका थिए । स्रोतले भन्यो,“महरा सरले आफू चुनाव नलडे पनि १ नम्बरमा सिफारिस गरिदिनुस् भन्नुभएकाले नाम राखिएको हो, यो उहाँप्रतिको सम्मान पनि हो ।”

रोल्पामा प्रतिनिधि सभाका लागि वर्षमान पुन र जयपुरी घर्तीको बढी दाबी छ । सिनियर भएकाले पुनको स्वत दाबी छ भने घर्तीले यस पटक आफूले प्रत्यक्ष चुनाव लड्ने इच्छा व्यक्त गरेकी छन् ।

के.सी. यसअघि आफूले जितेको क्षेत्र नभएर प्रदेश (ख)बाट सिफारिसमा परेका छन् । २०७४ मा के.सी. निर्वाचित प्रदेश (क) बाट जोखबहादुर महरा, सुकबहादुर रोका,गुणेन्द्र घर्ती, पूर्ण के.सी.को नाम सिफारिस भएको छ ।

के.सी.को नाम किन प्रदेश र संघमा ?

केसीका प्रेस संयोजक मानबहादुर विकका अनुसार फेरि मुख्य मन्त्री बन्ने अवस्थामा मात्रै के.सी. प्रदेश सभाकै लागि चुनाव लड्ने छन् । सांसद बन्नका लागि मात्रै के.सी. प्रदेश सभामा चुनाव लड्ने मनस्थितिमा भने छैनन् । के.सी. सिफारिस भएको प्रदेश सभा (ख) मा २०७४ सालमा दिपेन्द्रकुमार पुन विजयी भएका थिए । यो क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन समेत सिफारिस भएका छन् ।

रोल्पामा केन्द्रको निर्णय अनुसार गठबन्धन गरेको अवस्थामा कांग्रेससँग मिलेर जानुपर्ने छ र कांग्रेसका पुनले सोही क्षेत्र पाउने छन् । पुन पनि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको समेत दाबेदार हुन् । मुख्यमन्त्री के.सी.का प्रेस संयोजक विकले भने,“ गठबन्धन गरेर जानुपर्ने अवस्थामा पनि भोली पार्टीले व्यवस्थापन गर्छ यो ठूलो विषय होइन ।”

२०७४ मा संघ र २ वटा प्रदेश निर्वाचन क्षेत्रमै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । यसपटक केन्द्रमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको ५ दलीय गठबन्धन छ र संघ तथा प्रदेशको चुनावमा पनि सँगै जाने निर्णय भइसकेको छ । तर रोल्पामा भने माओवादी केन्द्रको बैठकमा गठबन्धन गर्न नहुने आवाज बैठकमा उठेको थियो ।

जिल्लामा गठबन्धन नभए के.सी.लाई चुनाव लड्न बाटो खुल्ला हुने छ । तर,गठबन्धन गरेर जाँदा कांग्रेसका पुनलाई प्रदेश सभा क्षेत्र छोड्नुपर्ने अवस्थामा के.सी.लाई पार्टीले ‘व्यवस्थापन’ गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !