आयोजनाका कारण जनताको उठिबास हुनु भएन: सहरी विकास मन्त्री चौधरी
काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरि योजना अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज आयोजना गरेको धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजनासम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, “आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ । छलफलमा ठुला बडा मात्र सहभागि भएको जस्तो हुनुभएन । स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ ।’’
मन्त्री चौधरीले डुवानको समस्या समेत हल हुनेगरि छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताएका छन् ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोविखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढेको जनाए । त्यसैगरि उनले आयोजनाको प्रस्तावित नाम धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना रहेको बताए । साथै उनले आयोजनाको नाम संशोधन र श्रोतको सुनिस्चतता अर्थमन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी समेत गराएका थिए ।








