लुम्बिनी प्रदेश सरकारद्वारा राजधानी निर्माणका लागि संघीय सरकारसंग बजेट माग
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले राजधानीको संरचना निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरेको छ ।
प्रदेश सरकारको पहिलो गौरवको आयोजना रहेको राजधानी निर्माण तिव्ररुपमा भइरहेको भन्दै बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग रकम माग गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृनिकाय तथा अन्तरराष्ट्रिय वित्तीय संस्थासँग आवश्यक स्रोत व्यवस्थापन गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको मन्त्री शर्माले बताए ।
उनले प्रदेशका विपद्जन्य घटनाबाट क्षतिग्रस्त उद्योगलाई सहयोग तथा राहत प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्ने गरेको बताए । बैठकले ग्रामीण सडक संजाल सुधार आयोजना, कार्यान्वयन इकाई संचालनका लागि अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।








