राष्ट्रिय पुँजीमा आधारित उद्योगको संरक्षण गर्न आवश्यक छ : नेतृ घर्ती
काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य जयपुरी घर्तीले राष्ट्रिय पुँजीमा आधारित उद्योगको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् ।
मुलुकलाई आत्मनिर्भरता तर्फ लैजानुपर्नेमा जोड दिँदै नेतृ घर्तीले दलाल पुँजीपति उद्योग भन्दा राष्ट्रिय पुँजीमा आधारित उद्योगको संरक्षण गर्नुपर्ने उल्लेख गरिन् । अखिल नेपाल औद्योगिक मजदुर संघको छैठौं राष्ट्रिय सम्मेलनको काठमाडाैंमा उद्घाटन गर्दै मजदुरले आफ्नो श्रम अनुसारको ज्याला सेवा सुविधा लिँदै राष्ट्रिय पुँजीमा आधारित उद्योगको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्,“ विगतमा उद्योग र श्रमिकबीचको सम्बन्ध राम्रो नभएको जस्तो देखियो तर उद्योगधन्दाको संरक्षण गर्नु श्रमिकको पनि दायित्व तर दलाल पुँजी र राष्ट्रिय पुँजीमा ध्यान दिन आवश्यक छ । ”
उनले संगठन चलाउन आधिकारिक रुपमा लेबी उठाउन सकिने तर बार्गेनिङका लागि आन्दोलन गर्ने प्रवृति त्याग्नुपर्नेमा जोड दिइन् । मुलुकमा वैदेशिक हस्तक्षेप बढेको भन्दै देशलाई स्वतन्त्र र आत्मनिर्भर बनाउन मजदुरले पनि भूमिका खेल्नुपर्ने नेतृ घर्तीको आग्रह थियो ।








