१ श्रावण २०८२, बिहिबार

अछाममा पहिरो र डुबानले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  17 September, 2022 2:20 pm


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

अछामको मंगलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिका लगायतका स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकोमा उपराष्ट्रपति पुनले आफू स्तब्ध भएको बताएका छन् ।

उपराष्ट्रपति पुनका प्रेस संयोजक घर्तीमगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“उपराष्ट्रपतिज्यूले पहिरो तथा डुबानका कारण निधन हुनुभएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।”

उपराष्ट्रपति पुनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

पहिरो तथा डुबानमा परी बेपत्ता भएकाहरूको खोजमा सबै तहका सरकारले चालिरहेका कदमको सराहाना गर्दै खोजी कार्यलाई अझै प्रभावकारी बनाउन उनको आग्रह छ । उपराष्ट्रपति पुनले पहिरोबाट विस्थापितहरूका लागि प्रयाप्त राहत र उचित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् ।

मौसमविद्हरुले वर्षा अझै जारी रहने र बाढीपहिरो तथा डुबानको सम्भावना औल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई उपराष्ट्रपति पुनले आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !