८ पुस २०८२, मंगलबार

माओवादी केन्द्रबाट रोल्पामा टिकट कसलाई ? वर्षमान र जयपुरीको दाबीमा महराको ‘इन्ट्री’

प्रकाशित मिति :  18 September, 2022 6:50 pm


काठमाडौं । प्रतिनिधि सभामा १ निर्वाचन क्षेत्र रहेको रोल्पामा उम्मेदवार छनौट रोचक बनेको छ । जिल्लाले सिफारिस गरे पनि अन्तिममा कसले टिकट पाउने भन्ने विषय रोचक र पेचिलो बनेको हो ।

रोल्पाबाट प्रतिनिधि सभाको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस भएको छ । सिफारिसमा परेका मध्ये पूर्वसभामुख कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने भनिएको थियो । तर, पछिल्लो समय महराले प्रत्यक्ष निर्वाचन लड्नु परे रोल्पामै जाने बताउन थालेका छन् ।

महराले दाबी नगर्दा वर्षमान पुन र जयपुरी घर्ती प्रत्यक्ष निर्वाचनको प्रमुख दाबेदार थिए । स्रोतका अनुसार पुन र घर्तीको दाबी चलिरहेका बेला महराको समेत प्रवेश भएपछि माओवादी केन्द्रभित्र टिकट कसले पाउने भन्ने विषय पेचिलो बनेको छ ।

माओवादी केन्द्र स्रोतले भन्यो,“ महरा सरले प्रत्यक्ष निर्वाचन लड्ने भए रोल्पा जान्छु भनेपछि एक खालको अन्योल जस्तो भएको छ ।” त्यसो त महरा समानुपातिकमा बस्ने इच्छा व्यक्त गरेको प्रचण्ड सचिवालय स्रोतको भनाई छ । सचिवालय स्रोतका अनुसार सकेसम्म यसपटक आफू समानुपातिकमा बसेर अरुलाई प्रत्यक्ष अवसर दिनुपर्ने उनको जोड छ । अध्यक्ष प्रचण्डले भने शिर्ष नेताहरू प्रत्यक्ष चुनाव लड्नुपर्नेमा जोड दिएका छन् ।

दाङ क्षेत्र नम्बर २ मा महरा उठे मात्रै चुनाव जित्न सकिने माओवादी केन्द्रभित्र आँकलन छ । २०७४ को निर्वाचनमा रोल्पा प्रतिनिधि सभाका लागि वर्षमान पुन निर्वाचित भएका थिए । यसपटक पनि उनले आफू प्रत्यक्ष निर्वाचन लड्ने बताइसकेका छन् । स्रोतका अनुसार महरा दाङबाट चुनाव लड्ने भएकाले वरिष्ठताका आधारमा पनि रोल्पा आफूले पाउनुपर्ने पुनको दाबी छ । जयपुरी घर्ती पनि यसपटक प्रत्यक्ष निर्वाचनमा लड्न दाबी गरिरहेकी छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रोल्पामा यसपटक आफूले अवसर पाउने बताईसकेको स्रोतको दाबी छ ।

आफू भन्दा वरिष्ठ नेताले पटक पटक अवसर पाइसकेकाले यसपटक आफू पछि नहट्ने घर्तीले बताउने गरेकी छन् । घर्तीले आफूलाई चेपुवामा परेको भन्दै यसपटक प्रत्यक्षमा आफ्नो अडान कायमै राखेकी छन् । यो कुरा महरा र पुनलाई समेत भनिसकेको घर्ती निकट स्रोतको भनाई छ ।

रोल्पा माओवादी केन्द्रका लागि तुलनात्मक हिसाबले सुरक्षित ठाउँ मानिन्छ । गत स्थानीय तहको चुनावलाई आधार मान्दा पनि माओवादी केन्द्रको मत बलियो छ । धेरै नेता र एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले माओवादी केन्द्रमा नेता व्यवस्थापन गर्न समस्या भएको छ ।



प्रतिक्रिया दिनुहोस !