१४ बैशाख २०८१, शुक्रबार

महरा समानुपातिकमा गएपछि रोल्पामा टिकटका लागि वर्षमान पुन र जयपुरी घर्तीको टकराव

प्रकाशित मिति :  21 September, 2022 8:27 am


काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा समानुपातिकमा गएपनि रोल्पाबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको टिकटमा वर्षमान पुन र जयपुरी घर्तीबीच अझै कुरो मिल्न सकेको छैन ।

पुनले टिकट स्वत आफूले पाउनुपर्ने बताईरहेका छन् भने आफू समानुपातिकमा बसिसकेकाले यसपटक रोल्पाबाट प्रत्यक्षतर्फ आफ्नो दाबी रहेको घर्तीले बताएकी छन् । पूर्वसभामुख महराले प्रत्यक्ष तर्फ चुनाव लड्नु परे रोल्पाबाट लड्ने भनेपछि टिकटमा त्रिपक्षीय दाबी परेको थियो ।

अन्तिममा पूर्वसभामुख महराले रोल्पाबाट प्रत्यक्ष तर्फ वा समानुपातिकमा १ नम्बर माग गरेका थिए । पार्टीभित्र निर्णायक भूमिका खेल्न सक्ने पुनमाथि दबाव हाल्न दाङ क्षेत्र नम्बर २ छोडेर महराले रोल्पा दाबी गरेका थिए । यद्यपी महराले पहिलेदेखि नै समानुपातिकमा जाने बताइरहेका थिए ।

निकट स्रोतका अनुसार महराले पुन र घर्तीलाई ‘म रोल्पाबाट लड्ने हो’ भनेर जानकारी गराएका थिए । रोल्पाबाट चुनाव नलड्ने भए समानुपातिकको १ नम्बरमा सूचीमा राख्नुपर्ने महराको भनाई थियो । सबैको साझा बन्ने भन्दै महरा समानुपातिकमा गएपछि रोल्पामा पुन र घर्तीको दाबी चर्को बनेको छ ।

घर्तीले आफूले यसपटक रोल्पामा कुनै हालतमा नछोड्ने बताउँदै आएकी छन् । लुम्बिनी सञ्चारसँगको कुराकानीमा घर्तीले भनिन्,“ मेरो दाबी स्वभाविक छ, म समानुपातिकमा यसअघि वसिसकेको हु र रोल्पामा यसपटक मैले अवसर पाउनुपर्छ, मैले अध्यक्ष(प्रचण्ड) लाई पनि यो कुरा भनिसकेको छु ।”

२०७४ सालको चुनावमा पुन रोल्पाबाट निर्वाचित भएका थिए भने घर्ती समानुपातिकबाट संसद बनेकी थिइन् । पुन पार्टीको उपमहासचिव हुन् भने घर्ती स्थायी कमिटी सदस्य हुन् । पुन २०७४ सालमा निर्वाचित भएपछि झण्डै ३ वर्ष उर्जामन्त्री भएका थिए । घर्ती प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति सभापति बनेकी थिइन् ।

रोल्पाबाट महरासहित ६ जनाको नाम सिफारिस भएको थियो । सिफारिसमा महरा, पुन, घर्तीसहित पूर्व सभामुख ओनसरी घर्ती, झक्कु सुवेदी, कुलप्रसाद केसीको नाम छ । महरा समानुपातिकमा बसेपछि माओवादी केन्द्रका लागि सहज मानिने रोल्पामा पुन र घर्तीबीच टिकटमा रस्साकस्सी परेको छ ।



प्रतिक्रिया दिनुहोस !