राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि प्रहार गरेको सत्तागठबन्धनको ठहर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको छ ।
आज बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठकले राष्ट्रपतिको कदम गैर संवैधानिक भन्दै यो कदमले जनताबाट निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको ठहर गरेको हो ।
सत्तारुढ गठबन्धनले जारी गरेको संयुक्त बैठकमा भनिएको छ,“ प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्मानीय राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर्छ ।”
संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमा-बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको सत्तारुढ दलको भनाई छ ।