१५ चैत्र २०८०, बिहिबार

भोलीदेखि निर्वाचन आचारसंहिता लागू हुने, सरकार र मन्त्रीले के गर्न नपाउने ?

प्रकाशित मिति :  27 September, 2022 5:48 pm


काठमाडौं । भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

यसअघि भदौ १३ गते नै राजपत्रमा प्रकाशित भैसकेको निर्वाचन आचारसंहिताको पालना गर्नु सवैको दायित्व भएको बताएको छ ।

निर्वाचन आचारसंहिता परिच्छेद ३ मा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव प्रचार प्रसारमा हिँड्न नपाउने व्यवस्था छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहितालाई सवैले पालना गर्नुपर्ने आयोगको भनाइ छ ।

त्यस्तै बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य कार्यक्रम गर्न वा नीति, योजना वा कार्यक्रमको घोषणा, स्वीकृत र सञ्चालन गर्न पाउने छैनन् ।

तर सरुवा रोगको महामारी वा प्राकृतिक विपद सिर्जना भएमा आयोगको स्वीकृतिमा त्यस्ता काम गर्न पाइनेछ । साथै कुनै राजनीतिक पदको सिर्जना नियुक्ती भत्ता बृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने पनि आयोगले जनाएको छ ।

निर्वाचनको काम बाहेक निर्वाचन सम्पन्न नभएसम्म सरकारले कर्मचारीको सरुवा समेत गर्न आचारसंहिताले बन्देज गरेको छ । साथै आयोगको अनुमतिमा मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि बैदेशिक भ्रमणमा जान समेत सरकार र मन्त्रीहरुलाई बन्देज लाग्नेछ ।

आचारसंहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको छ ।



प्रतिक्रिया दिनुहोस !