८ बैशाख २०८१, शनिबार

चुनाव लक्षित गरेर निर्वाचन आयोगले निर्माण गरेको ‘प्रेस अफिस’ संयन्त्रप्रति पत्रकार महासंघको आपत्ति

प्रकाशित मिति :  30 September, 2022 2:53 pm


काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमनका लागि बनाएको संयन्त्रप्रति आपत्ति जनाएको छ ।

आयोगले नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेपछि नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा ‘प्रेस अफिस’ संयन्त्रको निर्माण गरेको छ । आयोगले यस्तो प्रकारको संयन्त्र निर्माण गरेर व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको महासंघको ठहर छ ।

महासचिव रासन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“सञ्चारमाध्यममा संप्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने काम निरकुंशतन्त्रमा मात्र हुने गर्छ । लोकतान्त्रिक व्यवस्थामा यो सोभनीय हुन नसक्ने महासंघको ठहर छ ।”

आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर राज्यका संयन्त्रसँग सहकार्य गरी सम्पन्न गर्ने निर्वाचन नै लोकतान्त्रिक मूल्य मान्यताअनुरुप हुने आम बुझाइ भएको भन्दै महासंघले यो निणर्य तत्काल सच्याई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता अन्तर्गत प्रेससँग सम्बन्धित विषय महासंघलगायत प्रेससँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर निर्माण गर्न महासंघले गरेको आग्रहलाईसमेत आयोगले बेवास्ता गरेको महासंघको आरोप छ ।

निर्वाचनका सबै प्रक्रियाका विषयमा सञ्चारमाध्यमको परिचयपत्र वा पत्रकार महासंघको परिचयपत्र वा सरकारी निकायबाट जारी पत्रकार परिचयपत्रका आधारमा निर्वाध समाचार संकलन, प्रकाशन तथा प्रसारणको वातावरण बनाउन पनि महासंघले आग्रह गरेको छ ।

महासंघले भनेको छ,“आयोगको काम स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित ढंगले निर्वाचन सम्पन्न गराउनु हो । संविधानले प्रत्याभूत गरेका अधिकार खोस्ने अधिकार आयोगलाई नभएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघ संविधानले प्रत्याभूत गरेको ‘पूणर् प्रेस स्वतन्त्रता’ र ‘अभिव्यक्ति स्वतन्त्रता’ लाई सशस्त्र निकाय (सेना, प्रहरीलगायत हतियार बोक्ने निकाय) कोसमेत संलग्नतामा नियन्त्रण गर्ने निणर्य तत्काल सञ्चाउन आयोग नेतृत्वको ध्यानाकर्षण गराउँदछ ।”



प्रतिक्रिया दिनुहोस !