१४ बैशाख २०८१, शुक्रबार

कान्छी छोरी प्रगतिका लागि सबै शक्ति खर्चिएर पूर्व सभामुख महरा ‘विश्रामतिर’

प्रकाशित मिति :  3 October, 2022 3:10 pm



रोल्पा । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ ।

पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि महराको नाम समानुपातिक सूचीबाट हटाइएको माओवादी केन्द्र स्रोतले जनाएको छ । महराले यसपटक प्रत्यक्ष तर्फको चुनाव नलड्ने भन्दै आफ्नो सूची समानुपातिकमा राख्न लगाएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर्ष नेता प्रत्यक्ष तर्फ नै चुनाव लड्नुपर्नेमा जोड दिए पनि महराले समानुपातिकमा प्रयास गरेका थिए । समानुपातिक तर्फको प्रारम्भिक सूची बुुझाउँदा महराको नाम पनि समावेश थियो ।

महराले आफू समानुपातिकमा हट्ने भए छोरी प्रगति महरालाई लुम्बिनी प्रदेशको समानुपातिक सूचीमा राख्नुपर्ने अडान लिएका थिए । महराको माग अनुसार कान्छी छोरी प्रगति महराको नाम लुम्बिनी प्रदेशको समानुपातिक सूचीमा राखिएपछि उनी पछाडी हटेका थिए । स्रोतका अनुसार महराले राजनीतिमा कान्छी छोरी प्रगति महरालाई पनि अगाडि बढाउन चाहेका छन् ।

प्रगतिको राेल्पाकै सुनछहरी गाउँपालिका–५ मावाङ बिहे भएको छ । पूर्वसभामुख महराले छोरी प्रगतिलाई महरा नलेखेर बुढामगर थर लेख्न सुझाव दिँदै आएका थिए । उनको बुढामगरसँग बिहे भएको छ । स्रोतले भन्यो,“महरा सरले प्रगतिलाई राजनीतिमा अगाडि बढाउन खोजिरहनु भएको थियो,उहाँले प्रगति जीलाई महरा नलेखेर बुढामगर* लेख्न सुझाव दिएको छु, समावेशीमा पनि काम लाग्छ भनेको छु,भन्दै आउनुभएको थियो ।”

जेठी छोरीजुवाइँ पूर्ण के.सी रोल्पा नगरपालिकाका निवर्तमान मेयर हुन् । के.सी. यसपटक नै प्रदेश सभाका लागि दाबेदार थिए । मेयर के.सी. जेठी छोरीजुवाइँ हुन् । पार्टी निकट स्रोतका अनुसार महराले निवर्तमान मेयर के.सी.भन्दा प्रगतिलाई अगाडी बढाउन चाहेका छन् । यद्यपी छोरा निर्मल, राहुल राजनीतिमै सकृय छन्, जेठी छोरीको पक्षघात भएका कारण अस्वस्थ छिन् ।

यसपटक महराले परिवारभित्रका अन्य सदस्यलाई छोडेर छोरी प्रगतिमाथि आफ्नो ‘सबै शक्ति’ खर्चिएको माओवादी निकट स्रोतको दाबी छ । छोरी प्रगतिका लागि पूर्वसभामुख महराले सिधै ‘आफ्नो सौदाबाजी’ गरिदिएका छन् । रोल्पा माओवादी केन्द्र स्रोतका अनुसार यो शक्ति पूर्व मेयर पूर्ण के.सी.मा लगाएको भए जिल्लाका लागि समेत राम्रो हुन सक्ने थियो । जिल्लामा सालीन नेतृत्वको छवी बनाइरहेका के.सी.लाई महराले ‘बल गर्न’ नचाहेको देखिएको भन्दै एक नेताले आश्चर्य व्यक्त गरे ।

महराले समानुपातिकबाट अब प्रत्यक्ष तर्फ समेत चुनाव नलड्ने अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेका छन् । स्रोतले भन्यो,“महरा सरले अब आफू पार्टीको काममा सकृय हुन्छु, प्रत्यक्षतर्फ चुनाव लड्दैन भनिसक्नुभएको छ, अध्यक्षले जोड गरेमात्रै हो होइन भने पार्टीमा सक्रिय बन्नुहुन्छहोला ।” कतिपयले महराको यो अभ्यासलाई सकृय राजनीतिबाट विश्रामतिरको यात्रा भनेर समेत टिप्पणी गरेका छन् ।

*अन्यथा भएकाले सच्चाइएको



प्रतिक्रिया दिनुहोस !