९ पुस २०८२, बुधबार

वर्षाका कारण अर्घाखाँचीमा दुई सय भन्दा बढी घरमा क्षति, एकजना अझै बेपत्ता

प्रकाशित मिति :  13 October, 2022 3:00 pm


अनिल नेपाली
अर्घाखाँची । एक सातासम्म परेको अविरल वर्षाका कारण अर्घाखाँचीमा दुई सय भन्दा बढी घरमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार जिल्लाभर पूर्ण र आंशिक गरि २ सय ३ घरमा क्षति पुगेको हो ।

क्षति भएका घरमध्य २० वटा बस्नै नमिल्ने गरि भत्किएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए। उनका अनुसार सन्धिखर्क, शितगंगा, मालारानी, छत्रदेव र पाणिनीमा अहिले पनि १ सय ११ घरपरिवार विद्यालय , र प्रतिक्षालयमा बसेका छन्।

पहिरोको जोखिममा परेर सार्वजनिक स्थानमा बसेका नागरिकलाई स्थानीयतहले न्यूनतम खाद्यान्न उपलब्ध गराउने र विस्थापितलाई पायक पर्ने ठाउँमा बसाल्ने ठाउँको खोजि गरी छिट्टै व्यवस्थापन गरीने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।यस्तै सन्धिखर्कका एकजना बालक खोलाले बगाउँदा अझै बेपत्ता छन्।

असोज १९ गते टिकाको दिन खोलाले बगाएका सन्धिखर्क नगरपालिका वडा नम्बर–७, खीकोट किटेनी निवासी १० वर्षीय समिर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले बगाएको थियो। छत्रदेवमा १ जनाको खोलाले बगाएर मुत्यु भएको छ। यही असौज २५ गते स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर–३ का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको थियो। पहिरोले केहि पशुचौपाया र कुखुरा समेत मरेका छन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्। उनीहरू अहिले विद्यालयमा बसेका छन्।पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडाध्यक्ष चुराबहादुर केसीले बताए। उनीहरूलाई स्थानीय चन्द्रप्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ। चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन्।पहिरोले गाउँका केही घर भत्किएका छन्। केही घर उच्च जोखिममा छन्।

सिंगो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले बताए।विद्यालयमा बसेका पहिरोपीडितलाई उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ। उद्योग वाणिज्य संघ अर्घाखाँचीले चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री पहिरोपीडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य संघका महासचिव तुलसी खनालले बताए। पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जनाए।

अर्घाखाँचीमा अविरल वर्षाका कारण बढेको खोलाले बगाएर एकजनाको मृत्यु भएको छ। एक बालक खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए। पहिरोले अर्घाखाँची जिल्लामा एक सय ११ परिवार विस्थापित भएका छन्। उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बसोबासको व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताए।



प्रतिक्रिया दिनुहोस !