१० पुस २०८२, बिहिबार

युवा क्लबको कार्यक्रममा पुगेर रोल्पामा गठबन्धनका नेताद्वारा ‘संयुक्त चुनावी अभियान’ सुरू

प्रकाशित मिति :  13 October, 2022 6:12 pm


रोल्पा । रोल्पामा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य दिपेन्द्रकुमार पुनले स्वतन्त्र उम्मेदवारी दिएपछि देखिएको अन्योल चिर्न नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेससहित गठबन्धनका नेता एकै ठाउँमा देखिएका छन् ।

पुनले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराएपछि देखिएको अन्योल चिर्न दुबै पार्टीका नेताले एकै ठाउँमा उभिएर निर्वाचनमा गठबन्धन एक रहेको सन्देश दिएका छन् ।

उनीहरूले संयुक्त अभियानको सन्देश दिने थलो बनाएका छन्,लुङ्ग्री गाउँपालिका – ४ ठूलो नम्जामा रहेको जनगणतान्त्रिक युवा क्लबको १५ औं वार्षिक उत्सव तथा विविधि खेलकुद कार्यक्रम -२०७९ को उद्घाटन समारोहलाई ।

आज भएको क्लबको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा स्थायी कमिटी सदस्य एवं रोल्पा प्रदेश सभा (क) बाट गठबन्धनका उम्मेदवार जोखबहादुर महरा, प्रदेश सभा (ख) का गठबन्धनका उम्मेदवार अमरसिंह पुन, नेकपा माओवादी केन्द्र रोल्पाका संयोजक गुणेन्द्र घर्ती,प्रदेश निर्वाचन क्षेत्र (क) का संयोजक आसबहादुर पुन,नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापा,सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीलगायत सबै उद्घाटन कार्यक्रममा सहभागि भएका छन् ।

फोटो : मानसिंह बिकको फेसबुकबाट

कार्यक्रममा गठबन्धनबाट उम्मेदवार रहेका महरा र पुनले एकआपसमा आफ्ना मतदाताबिच परिचय समेत गराएका छन् भने प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार वर्षमान पुनबारे पनि जानकारी गराएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी अघिल्लो प्रदेश सभामा रोल्पा (क)बाटै निर्वाचित भएका थिए । अहिले सो क्षेत्रको उम्मेदवार महरा छन् । प्रदेश सभा (ख)मा भने केन्द्रको निर्णय बिपरीत नेपाली कांग्रेसका कांग्रेसका उम्मेदवार अमरसिंह पुन विरुद्ध दिपेन्द्रकुमार पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनको उम्मेदवारीले जिल्लामा गठबन्धनबारे केही अन्योल थियो । माओवादी केन्द्रका कतिपय कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत पुनले ठिक गरेको टिप्पणी गरिरहेका छन् । तर गठबन्धन दलका जिल्लाबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने नेताहरूले भने भने अन्योल चिर्दै केन्द्रकाे आधिकारिक निर्णय कार्यान्वयन गर्ने सन्देश दिएका छन् ।

गठबन्धनका नेताले जिल्लाभर नै संयुक्त रुपमा चुनावी अभियान चलाउने तयारी गरेपनि त्यो भन्दा अघि नै क्लबको कार्यक्रम मार्फत एकै ठाउँमा रहेको सन्देश दिएका छन् । प्रदेश निर्वाचन क्षेत्र (क) का संयोजक पुनले भने,“ एक किसिमले गठबन्धनको चुनावी अभियान सुरु भयो भन्दा हुन्छ, हामी सबै कार्यक्रममा आएका छौं ।”



प्रतिक्रिया दिनुहोस !