पाल्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु
प्रकाशित मिति : 14 October, 2022 9:13 am
पाल्पा । रामपुर नगरपालिका–५ सानीअमराई मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो । उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका–१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस








