प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेका छन् : मन्त्री चौधरी
दाङ । दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको आरोप लगाएका छन् ।
पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्धारा विहिबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, “आज हामी विशेष परिस्थितिमा छौँ । सबै दल एक ठाउँमा आएका छौँ । नेपालको संबैधानिक सर्वाेच्चता, कानुनी राज्य, समावेशी लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गर्न फेरि पनि एक हुनुपरेको छ । २००७ सालदेखि हामी पटक पटक एक ठाउँमा आएका छौँ । मिलेरै राष्ट्रिय चुनौतिहरुको सामना गरेका छौँ । आज फेरि प्रतिगामीहरुसँग केपी ओलीले साँठगाँठ गरेर संविधानले सुनिश्चित गरेका नयाँ उपलब्धिहरु समाप्त पार्न खोजिरहेका छन् ।”
देउखुरीका नेता परशुनारायण चौधरी, खुम बहादुर खड्का दुवैले कसैलाई पनि काखा पाखा नगरि काम गरेको स्मरण गरे ।
मन्त्री चौधरीले भने, “समस्या राख्ने जोसुकैको काम गरिदिने उहाँहरुको अत्यन्त राम्रो बानी थियो । उहाँहरुले यो क्षेत्रलाई मात्र होइन सिंगो नेपाली कांग्रेसलाई यो स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । विकास, निर्माण र रोजगारीका क्षेत्रमा उहाँहरुको योगदान भुल्न सकिदैन ।”








