१० पुस २०८२, बिहिबार

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोमा महासंघको विरोध

प्रकाशित मिति :  14 October, 2022 3:56 pm


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए–नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति महासंघको असहमति रहेको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको समेत महासंघले आयोगलाई स्मरण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ,“नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौं ।”

‘आयोगले विभेद गर्‍याे’

आयोगले चुनाव प्रचार/प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएको भन्दै महासंघले तत्काल सञ्चाएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार/प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !