१० पुस २०८२, बिहिबार

चुनाव प्रचारमा लागेका पर्वतका प्रधानध्यापकसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

प्रकाशित मिति :  17 October, 2022 1:34 pm


काठमाडौं । जिल्ला निर्वाचन कार्यालय पर्वतले एक शिक्षकलाई २४ घण्टे स्पष्टीकरण माग गरेको छ । फलेवास नगरपालिका वडा नं. ४ स्थित बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गरेको भन्दै स्पष्टीकरण माग गरेको आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा जारी विज्ञप्तिमा प्रधानाध्यापक तिवारीले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिताविपरीत आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरी भोट मागी चुनावी प्रचारप्रसार गरेको उल्लेख छ ।

आयोगले तिवारीलाई असोज ३० गते बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले आफैं उपस्थित भई लिखित स्पष्टीकरण दिनुपर्ने निर्णय गरेको छ ।

‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारबाही किन गर्न नपर्ने हो, २४ घण्टाभित्र जिल्ला निर्वाचन कार्यालय पर्वतमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष आफैं उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न स्पष्टीकरण माग गरी कारबाही प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ ।’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !