१० पुस २०८२, बिहिबार

रोल्पा प्रदेश सभा (ख) मा सिजलको अडान कायमै, ‘फोन अफ’ गरेर छलफलमा

प्रकाशित मिति :  18 October, 2022 10:34 am



रोल्पा । रोल्पा प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य दिपेन्द्र कुमार पुन‘सिजल’ले आफ्नो उम्मेदवारी निष्क्रिय नबनाउने अडान कायमै राखेका छन् ।

पार्टीका शिर्ष नेताहरूले पटक पटक आग्रह गर्दा पनि पुनले उम्मेदवारी फिर्ता लिएनन् भने निस्कृय नबनाउने अडान कायमै राखेका छन् । माओवादी केन्द्रले सोमबार मात्रै गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर नाम फिर्ता नलिएका तथा उम्मेदवारको प्रस्तावक र समर्थक बसेका नेता कार्यकर्तालाई निस्कासन गर्ने निर्णय गरेको थियो ।

सिजलका छोरा अलोक पुनले अहिले उम्मेदवारी निष्क्रिय बनाउने कुनै योजना रहेको बताए । उनले भने,“ बुवाले अहिलेसम्म यसबारे केही बोल्नु भएको छैन । उम्मेदवारी फिर्ता लिने भए त सार्वजनिक रुपमा थाहा भइहाल्थ्यो ।” सिजल भने फोन अफ् गरेर आफ्ना निकट नेता कार्यकर्तासँग छलफलमा व्यस्त छन् । आलोकले भने,“उहाँ अहिले आन्तरिक छलफल र भेटघाटमै हुनुहुन्छ ।”

माओवादी केन्द्रले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता गर्दै असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फिर्ता लिइने बताएको थियो । थियो तर सिजलले उम्मेदवारी कायमै राखेका छन् ।

रोल्पा प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका अमरसिंह पुन उम्मेदवार रहेका छन् । रोल्पामा गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सिजलले आफ्नो उम्मेदवारी निष्कृय बनाउने विषय जटिल रहेको बताएका छन् ।

गठबन्धनका रोल्पाका नेताहरूका अनुसार पुनले ‘सिजलको उम्मेदवारी निस्कृय बनाउने विषय जटिल’ रहेको बताउने गरेका छन् । यद्यपी सिजलको उम्मेदवारी निष्क्रय बनाउने प्रयास जारी रहेको पुनले बताउने गरेका छन् ।

सिजलले उम्मेदारी कायमै राखेपछि उपमहासचिव पुन नैतिक दबावमा छन् । टिकट बाँडफाँडको जिम्मेवारीमा रहेका उपमहासचिव पुनले गृहजिल्लामै मिलाउन नसकेको टिप्पणी भएको छ । रोल्पाकी अर्की नेतृ जयपुरी घर्ती समेत असन्तुष्ट बनेर चुनाव प्रचारमा देखिएकी छैनन् ।

सिजलले बागी दिएपछि गठबन्धनका तर्फबाट प्रदेश सभा (ख) का उम्मदवार अमरसिंह पुनलाई जिताउनुपर्ने दबावमा उपमहासचिव पुन छन् । रोल्पा प्रदेश सभा (क) निर्वाचन संयोजक आसबहादुर पुन समेत अन्योलमा देखिएका छन् । प्रदेश सभाका लागि समानुपातिक तर्फ सिफारिस भएको उनको नाम प्रतिनिधि सभा तर्फ २५ औं नम्बरमा राखिएपछि ‘किन यसो गरियो ?’ भनेर असन्तुष्टी जनाएका छन् । उनी प्रदेश सभा (क) का सिनियर मध्यका नेता हुन् ।

पूर्वसभामुख कृष्णबहादुर महराले छोरी प्रगतिको नाम समानुपातिकमा २ नम्बरमा राख्न लगाएपछि पुन चेपुवामा परेको टिप्पणी हुने गरेको छ । प्रगतिको घर पनि सुनछहरी गाउँपालिकामै हो । प्रगतिको स्थान प्रदेश सभामा सुनिश्चित हुँदा पुन आगामी दिन(मा चेपुवामा पर्ने देखिएको छ । स्रोतका अनुसार संयोजक पुनले भने अहिले आफूले अहिले केही नबोल्ने र गठबन्धनको निर्णय कार्यान्वयनमा जाने बताएका छन् ।

प्रदेश सभा (ख) निर्वाचन क्षेत्रका माओवादी केन्द्रका संयोजक निमकान्त डाँगीले सिजललाई टिकट नदिइएमा असन्तुष्टी जनाएका थिए । यद्यपी उनले गठबन्धनको निर्णय नै कार्यान्वयनमा लैजाने बताए । उनले लुम्बिनी सञ्चारसँग भने,“पार्टीको केन्द्रीय नीति जे हो त्यै कार्यान्वयन हुन्छ, गठबन्धनको उम्मेदवार नै जिताउन लाग्छौं ।”



प्रतिक्रिया दिनुहोस !