पब्लिक क्याम्पस प्राध्यापक संघको महाधिवेशन नजिकिदै, अध्यक्षमा काेइराला र सिग्देलकाे दाबी
काठमाडौं । पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपालको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।
खुलेर दाबी नदेखिएपनि आन्तरिक रुपमा नेतृत्वका लागि छलफल र दौडधुप सुरु भएको हो ।
संघको चौथो महाधिवेशन आगामी मंसिर २१ र २२ गते कीर्तिपुर काठमाडौंमा हुँदैछ । प्रजातान्त्रिक र प्रगतिशील खेमाबीच तिब्र प्रतिस्प्रधा हुने संघमा दुइ कार्यकाल नेतृत्व गरिसकेका लुम्बिनी बाणिज्य क्याम्पसका प्राध्यापक गोपाल पाण्डे विधानका कारण विदा हुँदै छन् ।
२ कार्यकाल भन्दा बढी नेतृत्व गर्न नपाउने संघको विधान भएकाले प्रजातान्त्रिक खेमाका पाण्डे यसपटक विदा हुन लागेका हुन् । यसपटक प्रगतिशिल खेमाबाट जनमैत्री बहुमुखी क्याम्पस,काठमाडौंका प्राध्यापक नरेन्द्र कोइराला र प्रजातान्त्रिक खेमाबाट संघका पूर्व कोषाध्यक्ष बालकुमारी क्याम्पसका प्राध्यापक बालानाथ सिग्देल प्रमुख आकांक्षी छन् ।
५ सय ५२ वटा सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापकहरूको छाता संगठन रहेको यस संघको प्रभाव नेपाल प्राध्यापक संघमा समेत रहने गर्दछ । यस संघको महाधिवेशनका प्रतिनिधिहरू मध्येबाट ५ सदस्य बराबर १ प्रतिनिधि नेपाल प्राध्यापक संघको महाधिवेशनका लागि छनौट हुने प्रावधान छ ।
संघमा ५ पदाधिकारीसहित २१ जनाको केन्द्रीय कार्य समितिका लागि एकल संक्रमणीय पद्दतीका माध्यामबाट निर्वाचन हुने छ ।








