२ पुस २०८२, बुधबार

आर्चरीमा १२ पदक सहित गण्डकी प्रदेश विजयी

प्रकाशित मिति :  19 October, 2022 5:34 pm


काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेशको टिम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ काँस्य गरी कुल १२ पदकसहित गण्डकी प्रदेश विजयी बनेको हो ।

दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो भने अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो बन्दा २ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ काँस्यसहित कुल ४ पदक जितेर चौथो बन्यो भने प्रदेश १ ले २ रजत जितेर पाँचौ, सुदुरपश्चिम १ रजत र २ काँस्यसहित ३ पदक छैठौँ तथा बाग्मती प्रदेशले १ काँस्य मात्र जितेर सातौँ बन्यो ।

लुम्बिनी र एनआरएनए टिम भने पदकविहीन रहे । सबै टिमले सबै विधामा सहभागिता भने जनाएका थिएनन् । विजयी टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै काँस्यमा सीमित भए । गंगा र तिलक वरीयतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौ वरीयतामा छन् ।

रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै काँस्य पदक जितिन् । वरीयतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरियतामै छन् ।

कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै काश्य पदकमा सिमित भए ।

कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य ९एपीएफ० पछि परिन् । दोस्रो वरीयताकी आर्मीकी इमायुङ राईले आचार्यलाई १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरीयतामा अघि रहेकी आचार्य रजत पदकमा सिमित बनिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै काश्य जितिन् ।

स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरीयताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । र्याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । बाग्मतीका फर्माचन शेरचनले तेस्रो हुँदै काँस्य जिते ।

स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा विक तेस्रो हुँदै काँस्य पदकमा सिमित भइन् ।

कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार छ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टिम र मिक्समा प्रतिस्पर्धा गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस !