असन्तुष्टि बिर्सेर गठबन्धनका नेतालाई जिताउन लाग्नुहोस् : देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्टि बिर्सेर गठबन्धनका नेतालाई जिताउन आग्रह गरेका छन् ।
शुक्रबार पोखरामा सत्ता गठबन्ध दलको संयुक्त कार्यकर्ता प्रशिक्षण दिँदै प्रधानमन्त्री देउवाले आगामी चुनावमा गठबन्धनका सबै नेताले टिकट नपाएको असन्तुष्टी रहे पनि हिजोको कुरालाई बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए ।
उनले भने ‘सिट बाँडफाँडमा म त डराएको थिएँ । उहाँहरूले मिलाउनुभयो । सबै पार्टीमा टिकट नपाएको असन्तुष्टि छ । तपाईंहरू आफ्नो कर्म गर्नुस् । भोलि अवसर एकपटक पक्कै आउँछ । गठबन्धन यही तरिकाले अगाडि बढे जित निश्चित छ ।
गठबन्धनका कार्यकर्ताले हिजोका कुरा सम्झेर एकले अर्कोलाई असहयोग गर्ने स्थिति आउन नहुने बताएका हुन् । ‘हिजोको कुरा सम्झनुपर्ने पनि छैन । हिजोका कुराले हुने वाल पनि केही छैन । अहिलेका आवश्यकता गठबन्धन सरकार हो । गठबन्धनका उम्मेदवारलाई असहयोग गर्ने कुरा तपाईं नगर्नुस् ।’
टिकट नपाएको बाहनमा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्न बन्द गर्नुपर्ने देउवाले सुनाए । ‘गठबन्धन आजको आवश्यकता छ । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम गर्नु हुँदैन,’ उनले भने, ‘सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएको हो । प्रचण्ड, माधवजीलाई धन्यवाद दिन चाहन्छु । यत्रा नेता हुँदाहुँदै पनि उहाँले मलाई प्रधानमन्त्री बनाउनुभयो । उहाँहरूले मलाई होइन, नेपाली कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउनुभएको हो’ देउवाले भने ।








