१० पुस २०८२, बिहिबार

रूपन्देही–२ मा गठबन्धनलाई धक्का, उम्मेदवार गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वोच्चद्वारा सदर

प्रकाशित मिति :  21 October, 2022 6:03 pm


काठमाडौं । सर्वोच्च अदालतले रूपन्देही–२ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ।

गुरूङले दिएको रिटमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले यसअघिको अल्पकालीन आदेश निरन्तर नहुने उल्लेख गरेको छ । सर्वोच्चले आदेशमा भनेको छ,“ कानुनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गरूङमा कायम रहेको देखिँदा निजले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन ।”

सर्वोच्चले प्रष्ट रुपमा कालो सूचीमा नाम कायम रहेका व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन नपाउने भनेको छ ।

सर्वोच्च अदालतले भनेको छ,“कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । यस अदालतबाट असोज ३० मा जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन ।”

गुरुङको उम्मेदवारी खारेजीले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सहज भएको छ । अब गठबन्धनले कसलाई समर्थन गर्छ भन्नेबारे प्रष्ट छैन ।



प्रतिक्रिया दिनुहोस !